टेकसिँह धामी/ धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले केन्द्रिय राजनीतिको असर प्रदेशहरुमा पनि परेको बताएका छन् । नेपाल पत्रकार महासंघ कैलाली शाखामा निर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री भट्टले भने, ‘स्थायी सरकारको कल्पना गरेर नै हामीले चुनावमा लडेका हौँ तर विडम्बनाको कुरा छ त्यो हुन सकेन । पछिल्लो परिस्थिति एकदमै जटिल बनेको छ ।’ केन्द्रको पछिल्लो राजनीतिक तिगडमको असर अहिले प्रदेशहरूमा पनि परिरहेको उनको जिकिर छ ।
यस्तै अर्को सन्दर्भमा बोल्दै उनले तत्काल सुदूरपश्चिम सरकार परिवर्तन हुनै नसक्ने बताएका छन् । केही नेताहरू मिसन बनाएरै सरकार परिवर्तन गर्न लागिपरेको उनको आरोप छ । भट्टले विभिन्न सञ्चारमाध्यमहरूमा सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल स्पष्ट पारे ।
उनले भने, ‘हिजो हामीले नेता मानेकाहरू आज सुदूरपश्चिम प्रदेश सरकार हटाउने मिसनमा छन् । पछिल्लो समय सुदूरपश्चिम सरकारको विषयमा पनि धेरै समाचार आएका छन् । मुख्यमन्त्री हटाउने बारेमा पनि समाचार छन् । तर सरकार परिवर्तनको चर्चा आइरहेपनि त्यस विषयमा कुनै छलफल भने भएको छैन ।’
कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट असहयोग
कोरोना महामारी नियन्त्रणमा संघीय सरकारबाट सहयोग नभएको मुख्यमन्त्री भट्टको आरोप छ । कोरोना महामारी नियन्त्रणमा संघीय सरकारले सहयोग नगरेको प्रदेश सरकारलाई धेरै समस्या भएको उनले बताए ।
भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकाहरूलाई उद्धार गर्ने, परीक्षणको दायर बढाउने, अस्पताल स्थापना र औषधीको व्यवस्थापनमा संघीय सरकारबाट असहयोग भएको मुख्यमन्त्री भट्टले दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया