नेपाल पक्षको काभ्रेपलाञ्चोकमा समानान्तर कमिटी गठन

काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल पक्षले काभ्रेपलाञ्चोकमा समानान्तर कमिटी गठन गरेको छ ।

नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको गत फागुन २३ को फैसलापछि पार्टीभित्र विवाद बढेसँगै नेपाल पक्षले काभ्रेपलाञ्चोकमा पनि आधिकारिक कमिटी गठन गरेका हुन् ।

आज (आइतवार) नेपाल पक्षले बनेपामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलाले टोक बहादुर वाइवाको अध्यक्षतामा २११ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

भेलाले पालिका स्तरको समानान्तर कमिटी पनि गठन गरेको छ । आजै विद्यार्थी, युवा, किसानलगायतका संगठनको पनि जिल्ला कमिटीको घोषणा गरेको नेपाल पक्षले जनाएको छ ।

भेलामा वरिष्ठ नेता माधव नेपाल, नेत्री अष्टलक्ष्मी शाक्य, कृष्ण प्रसाद सापकोटा, विदुर सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?