गृहमन्त्री थापाद्वारा सपथ ग्रहण

काठमाडौँ- नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मन्त्री पदको सपथ लिएका छन् । आइतवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री थापाले सपथ लिएका हुन्।

मन्त्री थापाले संविधानको धारा ८० बमोजिम मन्त्री पदको सपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थापा एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान उनको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।

उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। पदमुक्त भएका गृहमन्त्री थापाको स्थानमा ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?