काठमाडौं । सरकारले आइतवारसम्ममा कुल ६ खर्ब ८७ अर्ब ६० करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो चालू आर्थिक वर्षको कुल लक्ष्यको ६७.९६ प्रतिशत हो ।
सरकारले चालू आव २०७७/७८ मा १० खर्ब ११ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालको अवस्था हेर्दा आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा लक्ष्य भेट्न कठिन हुने देखिएको छ ।
सरकारले आइतवारसम्ममा कर राजस्वतर्फ लक्ष्यको ७० प्रतिशत उठाइसकेको छ । ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख लक्ष्य रहेको कर राजस्वमध्ये ६ खर्ब ४० अर्ब २५ करोड ४१ लाख उठेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गैरकरतर्फ भने ४७.९२ प्रतिशत मात्र राजस्व उठेको छ । ९८ अर्ब ८० करोड ९४ लाखको लक्ष्यमध्ये र ४७ अर्ब ३५ करोड ३ लाख राजस्व संकलन भएको छ ।
लक्ष्यको ३२ प्रतिशत राजस्व उठ्न बाँकी
आर्थिक वर्ष २०७७÷७८ को गत फागुनसम्ममा संघीय सरकारको कुल राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले वृद्धि भई ५ खर्ब ७१ अर्ब २० करोड रुपैयाँ पुगेको थियो ।
चालू आवको फागुनसम्ममा भन्सार महसुलमा २४.५ प्रतिशतले वृद्धि भएको थियो भने आयकरको संकलनमा ५.४ प्रतिशतले कमी आएको थियो । सो अवधिसम्ममा गैरकर, आयकर र अन्य कर संकलनमा क्रमशः ११.७ प्रतिशत, ५.४ प्रतिशत र १.१ प्रतिशतले कमी आएको थियो भने अन्य शीर्षकको कर संकलनमा वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्ममा भन्सार बिन्दुमा संकलन हुने राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.३ प्रतिशतले वृद्धि भई २ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ पुगेको थियो । सो अवधिमा आन्तरिक करतर्फको राजस्व परिचालन ०.९४ प्रतिशतले संकुचन भइ २ खर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
पछिल्ले पाँच वर्षको फागुनसम्म राजस्व परिचालन क्रमशः बढ्दै गएको छ । यद्यपि, पछिल्ला वर्षमा राजस्व परिचालनको वृद्धि दर भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ ।
वित्तीय संघीयताको कार्यान्वयनसँगै घरबहाल कर, रजिस्ट्रेसन कर र सवारीसाधन कर परिचालनको अधिकार संघीय सरकारमा नरहने संवैधानिक व्यवस्थाको कारण पछिल्ला वर्षमा वृद्धिदर न्यून देखिएको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया