काठमाडौं । रोयल च्यलेन्जर्स बैंगलोरले आज साँझ खेलिएको पहिलो खेलमा जीत निकाल्दै आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाता नाइट राइडर्सलाई ३८ रनले पराजीत गर्दै बैंगलोरले यस प्रतियोगिताको तेस्रो जीत निकाल्न सफल भएको हो ।
चेन्नईको चेपाकमा टस जितेर पहिलो ब्याटिङ्ग रोजेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रनको विशाल योगफल बनाएको थियो । बैंगलोरको सुरुवाती ब्याटिङ्ग खराब रहे पनि म्याक्सवेल र डेविलियर्सले पारी सम्हाल्दै बैंगलोरलाई मजबूत बनाएका थिए । मिडल अडरका विस्फोटक ब्याट्सम्यान म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्का सहित सर्वाधिक ७८ रनको योगफल बनाएका थिए भने विकेटकीपर ब्याट्सम्यान डेविलियर्स ३४ बलमा ९ चौका र ३ छक्का सहित ७६ रनमा अविजित रहन पुगे । कप्तान विराट कोहली भने ५ रन बनाएर पविलियन फर्केका थिए ।
जीतको लागि २०५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको कोलकाता नाइट राइडर्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रनमा समेटिए पछि यो जीत बैंगलोरको हातमा गएको हो ।
अभिजित ७६ रनको शानदार पारि खेले बापत डेविलियर्स म्यान अफ दि म्याच घोषित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया