त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट : नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

काठमाडौं । बजाज पल्सर ट्राई नेसन्स टी-ट्वेन्टी सिरिजको उपाधि आयोजक राष्ट्र नेपालले जितेको छ।

नेदरल्याण्ड्सलाई १४२ रनको कीर्तिमानी अन्तरले हराउँदै नेपालले आफ्नो पहिलो त्रिकोणात्मक शृङ्खलाको उपाधि चुम्न सफल भएको छ। यसका साथै घरेलु मैदानमा ११ वर्ष पछि नेपाल क्रिकेट टोलीले पहिलो अन्तराष्ट्रिय ट्रफी जित्न सफल भएको हो।

पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा २३८ रन बनाउँदै टी-ट्वेन्टी आईमा आफ्नो सबै भन्दा ठूलो योगफल तयार पार्न सफल भयो। नेपालका लागि कुशल भुर्तेलले फेरि पनि उत्कृष्ट ब्याटिङ गर्न सफल भए। यस शृङ्खलामा चौथौं अर्धशतक लगाएका कुशलले आज ७७ रनको पारी खेले। कुशललाई साथ दिँदै अर्का कुशल, कुशल मल्लले पनि टी( ट्वेन्टी आईमा आफ्नो पहिलो अर्धशतक प्रहार गरे। उनले २४ बलमा अविजित ५० रन बनाए। उप कप्तान दीपेन्द्र सिंह ऐरीले पनि लाजावव क्यमियो रोल खेल्दै १८ बलमा ४८ रनको अविजित पारी खेले।

२३९ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु चल्नै सकेनन्। आशिफ शेखले खेलको दोस्रो ओभरमै उत्कृष्ट फिल्डिङ गर्दै डाइरेक्ट हिटको मार्फत ओपनर वीस्सेलाई पविलियन फर्काए। त्यसपछि नेदरल्याण्ड्सको ब्याटिङ पतनको सिलसिला रोकिएन। करन केसीले यस शृंखलाकै व्यक्तिगत उत्कृष्ट प्रदर्शन देखाए। उनले ३ ओभरमा मात्र ११ रन खर्चेर ३ विकेट बटुले, कमल सिंह ऐरीले २ र सन्दिप लामिछानेले २ विकेट लिन सफल भए।

आज भएको फाइनल खेलमा यस प्रतियोगिता कै सबै भन्दा धेरै र थोरै, दुबै योगफल बन्न पुग्यो। नेपालले बनाएको २३८ रन यस शृङ्खलाको मात्र नभई नेपाल क्रिकेटकै टी-ट्वेन्टी आईमा सबै भन्दा ठूलो योगफल हो। नेदरल्याण्ड्सले बनाएको ९६ रन यस प्रतियोगिताको निर्धारित २० ओभरको इन्निङमा बनाइएको सबै भन्दा सानो योगफल रह्यो। यसको परिणाम स्वरूप नेपालले आजको फाइनल खेल १४२ रनले आफ्नो हातमा पारेको हो।

समग्रमा, यस प्रतियोगिताबाट डेब वाटमोरको नेपाली क्रिकेट प्रशिक्षण यात्राले सुनौलो सुरुवात लिएको छ। निकै नै अनुभवी र एफिसिएँट मानिने वाटमोरले यस प्रतियोगितामा नेपाली ब्याटिङ, बलिङ र फिल्डिङ, तीन वटै पक्षलाई सुधारको प्रष्ट देखियो।

यस शृङ्खलाको सर्वाधिक रनकर्ता र विकेटकर्ता दुबै नेपाली खेलाडी नै हुन पुगे। ब्याटिङ तर्फ कुशल भुर्तेलले ५ इन्निङमा २७८ रन बनाए भने बलिङमा सन्दीपले ५ खेलमा १३ विकेट लिन सफल भए।

त्रिकोणात्मक शृङ्खलाको उपाधिले नेपाली क्रिकेटलाई ठूलो टेवा पुर्याएको छ। केही समय देखि नेपाली टोलीले सोचे जस्तो परिणाम निकाल्न नसकिरहेको अवस्थामा यो उपाधिले सम्पूर्ण नेपाली खेलाडी तथा शुभचिन्तकमा नयाँ जोश, उमङ्ग र ऊर्जा थपेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?