काठमाडौं । इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार खेलिएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
पहिलो हाफको ४३ औं मिनेटमा बेन चिलवेलको क्रस मार्फत टीमो वर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
दोस्रो ८१ औं मिनेटमा वेस्ट ह्याम रक्षापंक्तिका फेबियन बालबुवेनाले रातो कार्ड खाँदै मैदान छोड्नु पर्यो । १० खेलाडीमा झरेको वेस्ट ह्यामले खेलमा कुनै गोल फर्काउन नसक्दा चेल्सीको जीत सुनिश्चित भएको हो ।
वेस्ट ह्यामको लन्डन स्टेडियममा खेलिएको खेल दुबै टोलीको लागि महत्वपूर्ण खेल थियो । टप ४ को लागि प्रतिस्पर्धा गरिरहेका चेल्सी र वेस्ट ह्यामको च्याम्पियन्स लिग दौडमा हिजोको खेलपछि ३३ खेलमा क्रमशः ५८ र ५५ अंक भएको छ ।
यसै गरी हिजो खेलिएको अर्को खेलमा लिभरपुल आफ्नै घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ । मोहम्मद सालाहले तेस्रो मिनेटमा गरेको गोललाई न्युक्यासलका जो विलकले खेलको इन्जुरी टाइममा बराबरीमा परिणत गरिदिएका हुन् ।
यसका साथै लिभरपुलको टप ४ को सपना न्यून देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया