धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना भाइरस संक्रमितबाट नै रकम असुलिरहेको छ । नगरपालिकाले कोरोना कहरकै बेला संक्रमितबाटै रकम उठाइरहेको पाईएको हो।
महामारीको बेला स्थानीय सरकारले कोभिड-१९ का बिरामीहरुलाई उद्धार, उपचारमा सहयोग गर्नुपर्ने दायित्व भए पनि उल्टै पैसा असुल्न सुरु गरेको पाइएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गड्डाचौकी नाकामा गरिएको परीक्षणका क्रममा पीसीआर पोजेटिभ देखिएपछि धनगढीस्थित अस्पताल पुर्याएबापत कृष्णपुर नगरपालिका(६ बस्ने उत्तमराज भट्टबाट तीन हजार रुपैयाँ लिएको छ ।
नगरपालिकाको एम्बुलेन्सबाट कोरोना संक्रमितको उपचारका लागि धनगढी पुर्याएबापत भाडा भन्दै तीन हजार रुपैयाँ लिएर रसिद थमाइ दिएको हो । यस्तो महामारीको समयमा अभिभावकको जिम्मेवारी बहन गर्नुपर्ने नगरपालिका नै आफ्नो एम्बुलेन्स प्रयोग गर्दै कमाउने धन्दा सुरु गरेको भन्दै नगर प्रमुख कर्णबहादुर हमालको आलोचना भइरहेको छ ।
भट्टले भारतको चन्दीगढबाट आफ्ना क्यान्सर पीडित बाजे विजयराज भट्टको घाँटीको शल्यक्रिया गराएर फर्किने क्रममा सीमा क्षेत्र गड्डाचौकीमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनलाई प्रहरीले अस्पताल जान भनेपछि नगरपालिकाको एम्बुलेन्समा उनी धनगढी गएका थिए ।
बिरामीका आफन्तले नगर प्रमुखसमेत रहेका नेकपा एमाले ओली समूहका नेता हमालसँग कोभिड महामारीमा बिरामीको उद्धार गर्नु नगरपालिकाको कतर्व्य भएकोले निशुल्क गर्न माग गरे पनि उनले भने रकम तिर्नपर्ने दवाब दिएका हुन् ।
त्यसअघिसम्म कोभिडका विरामीका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराइएको थियो । सरकारले कोरोना संक्रमितको उद्धार र उपचार निशुल्क गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया