काठमाडौं प्रशासनका कर्मचारीलाई कोरोना, के भन्छन् सिडिओ ?

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरु बैशाख १३ गतेदेखि २० गते सम्मका लागि स्थगित गरिएको बताए । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परिक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उनले बताए । यसबाहेक भिडभाड हुने अन्य कार्यालयहरुमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गरे ।

स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् । तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सूचारु रहने बताए ।

आइतवार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भिडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचार प्रसार गर्ने र भिडभाड कम गर्न सबैलाई अनुरोध गर्ने निणर्य गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?