सुर्खेतमा एक साता निषेधाज्ञा

कर्णाली । दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज सोमवार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बैंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

संक्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका संक्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?