काठमाडौं । नेपालको पहिलो फ्रेंचाईजी फुटबल लिग, नेपाल सुपर लिग (एनएसएल) सरकारले जारी गरेको निषेधाज्ञामा पनि नरोकिने भएको छ । एनएसएल निषेधाज्ञाका कारण रोकिने अनुमान गरिएको थियो ।
भोलि (बिहीवार) बाट काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा निषेधाज्ञा लगाइँदै छ। कोरोनाको दोस्रो लहरले तिब्र गति लिए पश्चात सरकार निषेधाज्ञा लगाउन बाध्य बनेको छ।
यसै बिच दशरथ रंगशालामा जारी नेपाल सुपर लिगप्रति भने सरकार नरम बनेको छ। खेलकुद मन्त्री दामा तामाङले एनएसएलको पहिलो संस्करणलाई पूरा गर्न दिने बारे सहमति जनाएका छन्। एनएसएलको पहिलो सिजन यही वैशाख ११ गते बाट बिना दर्शक दशरथ रंगशालामा शुरू भएको हो। अहिले सम्म प्रतियोगितामा ५ खेल सम्पन्न भइसकेका छन्।
सन् २०१९मा शुरू हुने भनिएको एनएसएल विभिन्न कारणवश हुन सकेको थिएन। २०७२ सालको भूकम्पले ध्वस्त बनाएको दशरथ रंगशालाको समयमा निर्माण कार्य पूरा हुन नसक्दा सन् २०१९ मा एनएसएल हुन सकेन। त्यसपछि सन् २०२० मा कोरोना महामारीका कारण फेरि एनएसएलको मिति पछि सारिएको थियो।
स्वदेशी तथा विदेशी खेलाडीहरु सम्मिलित एनएसएलका सातै टोलीले सम्पूर्ण खेलाडीहरुलाई ५ तारे होटलमा सुविधा सम्पन्न बायो बबलु भित्र राखेको हुँदा एनएसएल नरोकिएको हो।
छिमेकी मुलुक भारतमा पनि कोरोनाको दोस्रो लहरको महामारीको माझ इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोक लगाइएको छैन। नेपालमा पनि सरकारले एन्फा र राखेपको आग्रहलाई स्वीकार्दै एनएसएलका बाँकी खेल सम्पन्न गर्न दिने सहमति जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया