काठमाडौं । चितवन जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५७९ पुगेको छ ।
एकै दिन मङ्गलवार १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् ।
थपिएका संक्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा संक्रमण पुष्टि भएको छ । उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया