काठमाडौं। युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमी फाइनल खेलमा आज राती पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटी प्रतिस्पर्धा गर्दैछन्।
पीएसजीको घरेलु मैदान ‘पार्क डे प्रिन्सेसमा’ नेपाली समय अनुसार मध्यरात १२ः४५ मा खेलिने सेमी फाइनलको पहिलो लेग यी दुई टोलीको दोस्रो च्याम्पियन्स लिग भेट हो।
सन् २०१६ मा यी दुई टोली आमने सामने हुँदा सिटीको तराजु भारी देखिएको थियो। त्यतिबेला दुई लेगमा सिटीले पीएसजी माथि ३-२ को एगृगेट गोल अन्तरले क्वार्टर फाइनल जितेको थियो।
अहिले, समय फरक छ र फरक छन् यी दुई टोली। वर्तमान युरोपियन च्याम्पियन बायर्न म्युनिकलाई क्वार्टर फाइनलमा पराजित गरेको पीएसजीको आत्मविश्वासले आकाश चुमेको अवस्था छ। गत संस्करणको उप विजेता पीएसजी कुनै पनि हालतमा यो संस्करणमा हार बेहोर्न चाहँदैन।
तर पीएसजीको अगाडि म्यानचेस्टर सिटीको चुनौती छ। युरोपियन फुटबल क्लबहरुमा ‘वान अफ दि बेस्ट’ मानिने म्यानचेस्टर सिटीका प्रशिक्षक रहेका छन् पेप गार्डियोला। फुटबलिङ जगतका उत्कृष्ट प्रशिक्षकहरुमध्येका एक गार्डियोला म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिग जित्न आतुर छन्। यसै साता टोटनह्यामलाई हराउँदै काराबाओ कपको उपाधि उठाएको सिटीले आजको खेलमा हार बेहोर्न पटक्कै चाहँदैन।
घरेलु लिगमा ३४ खेल खेल्दै ७७ गोल गर्न सफल पीएसजीलाई काउन्टर अट्टेकिंग टोलीको रूपमा चिनिन्छ। नेयमार, एमबाप्पे, डी मारिया लगायतका खेलाडीहरुलाई विपक्षी टोलीको रक्षापंक्ति उथलपुथल पार्न कत्ति समय पनि लाग्दैन। तर सिटीको डिफेन्सको कुरा गर्ने हो भने घरेलु लिगमा ३३ खेल खेल्दै सिटीले मात्र २४ गोल खाएको छ। डिसेम्बर यता सिटीले हरेक २ खेलमा मात्र १ गोल खाने औसत रहेको छ।
यदि कुनै टोलीले पीएसजीको खतरनाक एट्याकलाई रोक्न सक्छ भने, त्यो म्यानचेस्टर सिटी नै हो। आजको सेमी फाइनल खेल बडो रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया