आईपीएलः वार्नरको दुई कीर्तिमान बावजुद हैदराबाद पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राती सम्पन्न खेलमा सन्राईजर्स हैदराबादका कप्तान डेभिड वार्नरको दुई कीर्तिमानका बावजुद चेन्नई सुपर किङ्स ७ विकेटले विजयी भएको छ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हैदराबादका कप्तान डेभिड वार्नरले व्यक्तिगत २ कीर्तिमान रचे। वार्नरले ५५ बलमा ५७ रन प्रहार गर्दा इन्डियन प्रिमियर लिगमा ५० अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बन्न पुगे। यो कीर्तिमान रच्न शिखर धवन (४३), विराट कोहली (४०), रोहित शर्मा (४०), जस्ता दिग्गज ब्याट्सम्यानलाई उछिनेका वार्नर र आफ्नो १५०औं आईपीएल खेलेका मनिश पाण्डेले दोस्रो विकेटको लागि १०६ रनको साझेदारी गर्दै हैदराबादलाई २० ओभरमा १७१ रनको योगफल तयार गर्न ठूलो मद्दत गरे। वार्नरको अर्धशतकले उनलाई टी-ट्वेन्टी क्रिकेटमा १०,००० रनको कीर्तिमानमा समेत पुर्यायो।

१७२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका ओपनर ऋतुराज गायकवाड र फाफ डु प्लेसीले पहिलो विकेटको लागि १२९ रनको उत्कृष्ट साझेदारी बनाउँदा चेन्नईले १८.३ ओभरमा मात्र ३ विकेट गुमाएर खेल आफ्नो पोल्टामा पार्न सफल भएको थियो। गायकवाडले मात्र ४४ बलमा ७५ रन बनाउन सफल हुँदा ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए। यो जितसँगै चेन्नईले पुनः शीर्ष स्थान ओगटेको छ भने हैदराबाद अन्तिम स्थानमा निरीह देखिएको छ।

आज (बिहीवार) आईपीएलमा दुई खेल खेल्ने कार्यक्रम रहेको छ। पहिलो खेलमा साविक विजेता मुम्बई इण्डियन्स र राजस्थान रोयल्स नेपाली समय अनुसार ३ः४५ बजे दिल्लीमा प्रतिस्पर्धा गर्दै छन् भने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स साँझ ७ः४५ बजे अहमदाबादमा प्रतिस्पर्धा गर्दै छन्।

यसै बिच भारतमा कोरोनाको कहर बढ्दा केन्द्रविन्दु बनेको दिल्लीमा आईपीएल खेल्न ४ टोली पुगेका छन्। मुम्बई, चेन्नई, हैदराबाद र राजस्थान बिच दिल्लीको अरुण जेट्ली स्टेडियममा जम्मा ८ खेल खेलिने छ। कोरोनाको त्राशका कारण दिल्लीमा टोलीहरुलाई कडा निगरानीमा राखिएको छ।

चेन्नई देखि दिल्ली जाने क्रममा हैदराबादका वार्नर र विलियम्सन एस्तो अवस्थामा देखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?