काठमाडौं। कोरोनाको दोस्रो लहरले तिव्र गति लिएपछि नेपाल सरकारले आज (बिहीवार) बाट देशका विभिन्न ठाउँमा निषेधाज्ञा लगाएको छ । यसका बावजुद नेपालको पहिलो फ्रेन्चाईजी लिग, खुकरी नेपाल सुपर लिग (एनएसएल) भने नरोक्किने भएको छ।
नेपाल सरकारले एनएसएलको पहिलो संस्करणलाई निरन्तरता दिने निर्णय गरेपछि आज दशरथ रंगशालामा हुने आठौं खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसी प्रतिस्पर्धा गर्दै छन्।
साँझ ५ः३० बजे किकअफ् हुने सो खेलमा किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी ललितपुरमाथि जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने योजनाका साथ मैदान प्रवेश गर्ने छ। पहिलो खेलमा विराटनगरसंग ३-० को पराजय भोगेको धनगढीले दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३-० गोलले नै पराजित गरेर तेस्रो स्थानमा रहेको छ।
ललितपुर सिटी एफसीको भने अर्कै टाउको दुखाई छ। यस प्रतियोगितामा १ अंकसहित अन्तिम स्थानमा रहेको ललितपुर पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने छ।
पछिल्ला दुई खेलमा राम्रो फुटबल खेलेर पनि ललितपुरले जित भने निकाल्न सकेको छैन। कप्तान अन्जन विष्टमाथि निकै निर्भर भएको ललितपुरको टोलीको प्रशिक्षक प्रदीप हुमागाँईले रणनीतिमा केही परिवर्तन गर्नुपर्ने देखिन्छ।
उता, युगल किशोर राईको प्रशिक्षणमा रहेको धनगढीले आफ्नो पहिलो खेलमा तालमेल मिलाउन सकेको थिएन। तर, काठमाडौं विरुद्धको दोस्रो खेलमा सोचे जस्तो प्रदर्शन देखाएर धनगढीले नतिजा निकाल्न सफल भएको थियो। स्ट्राइकर ओलावालेले बल होल्ड, फीड र गोल तीन वटै कुरा गर्दा धनगढीको खेलमा राम्रो लय बनेको देख्न सकिन्छ।
आजको खेलमा दुई उत्कृष्ट प्रशिक्षक र तिनका रणनीति आमने सामने हुँदै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया