काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज (बिहीवार) भएको एकमात्र खेलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले १-१ गोलको बराबरी खेल खेलेका छन्।
काठमाडौं उपत्यकामा लागेको निषेधाज्ञाको बावजुद दशरथ रंगशालामा आज साँझ भएको खेलमा दुबै टोलीले १-१ अंक बाँडेका छन्।
खेलको ५औं मिनेटमा ललितपुरका कप्तान अन्जन विष्टले गरेको प्रहारले जाली चुमेको थियो। तर रेफ्रीले उनको प्रहारलाई अफसाइड दिएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकियो।
दोस्रो हाफको ७२औं मिनेटमा धनगढीका स्ट्राइकर ओलावाले अफिजले गोल गर्दै धनगढीलाई अग्रता दिलाउन सफल भए।
तर, खेलको ७९औं मिनेटमा ललितपुरका सब्स्टिच्युट खेलाडी रंजन विष्टले गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
यो बराबरीसँगै ललितपुर सिटी एफसीले ३ खेलमा २ अंक जोड्न सफल भएको छ। आफ्नो पहिलो जित निकाल्न ललितपुरले अझै धैर्य राख्नुपर्ने देखिन्छ। उता धनगढीले ३ खेलमा ४ अंक जोड्न सफल भएको छ। अंक तालिकामा धनगढी र ललितपुर क्रमशः दोस्रो र सातौँ स्थानमा छन्।
धनगढीका दिनेश राजवंशी ‘म्यान अफ दि म्याच’ घोषित भए। त्यसैगरी, ललितपुरका निरज बस्नेत ‘प्रमिसिङ खेलाडी’ चुनिए।
एनएसएलमा भोलि काठमाडौं रेजर्स र पोखरा थन्डर्स प्रतिस्पर्धा गर्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया