काठमाडौं। ला लिगा अन्तर्गत हिजो (बिहीवार) राती सम्पन्न एकमात्र खेलमा बार्सिलोना ग्रानाडासँग १-२ गोलले पराजित भएको छ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेलको २३औं मिनेटमा लियोनल मेस्सीको गोलमार्फत बार्साले अग्रता लिएको थियो। एन्टोइन ग्रिजम्यानको पासलाई मेस्सीले गोलमा परिणत गरेपछि पहिलो हाफमा बार्साले १-० को अग्रता लिएको थियो।
खेलको दोस्रो हाफमा ग्रानाडाले राम्रो फुटबलको नमुना देखायो। ६३औं मिनेटमा ग्रानाडाका स्ट्राइकर डार्विन माचिसले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए। त्यस्तै खेलको ७९औं मिनेटमा भेट्रान जोर्ज मोलिनाले हेडर गोलगर्दै ग्रानाडाको कमब्याक पुरा गरे।
यो हारसँगै बार्सिलोनाको उपाधि रेसमा ठूलो ठेस लागेको छ। हिजोको खेल पश्चात ३३ खेलमा ७१ अंक सहित बार्सिलोना तेस्रो स्थानमै रह्यो। अहिले एथ्लेटिको मड्रिड र रियल मड्रिड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया