काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत गए राती भएको एकमात्र खेलमा साउथह्याम्पटनले लेस्टर सिटीलाई १-१ गोलको बराबरीमा रोकेको छ।
साउथह्याम्पटनको घरेलु मैदान सेन्ट मेरिज स्टेडियममा भएको खेलको १० मिनेटमा नै घरेलु टोली १० खेलाडीमा सीमित हुन पुगेको थियो। लेस्टरका स्ट्राइकर जेमी भार्डीलाई फल गर्दै साउथह्याम्पटनका डिफेन्डर यानिक वेष्टरगार्डले सिधै रातो कार्ड पाएर मैदान छाडेका थिए।
खेलको अधिकांश समय बिना १ खेलाडी खेलेको साउथह्याम्पटनले पहिलो हाफको ४१औं मिनेटमा अग्रता लिन पुग्यो। लेस्टरका ‘इन फर्म’ स्ट्राइकर केलेची इहेनाचोले आफ्नो ‘डी-एरिया’ भित्र बल हातले नियन्त्रण गर्दा कप्तान जेम्स वार्ड प्राउसले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६८औं मिनेटमा इहेनाचोले आफ्नो गल्ती सुधार्ने मौका पाए। उनको सुन्दर पासमा लेस्टरका डिफेन्डर जोनी इभान्सले गोल गर्दै लेस्टरलाई बराबरीमा पुर्याए।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र दुवै टोलीले समान १-१ अंक बाँडे। यसका साथै ३४ खेलमा ६३ अंक सहित लेस्टर सिटी तेस्रो स्थानमा बलियो देखिएको छ भने साउथह्याम्पटन ३७ अंक सहित १४औं स्थानमा छ।
आज हुने खेलहरु मध्ये लिग लिडर म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसको सामना गर्दै छ भने अर्को खेलमा चेल्सी र फुल्ह्याम भिड्दै छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया