काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना जोखिम बढेपछि सरकारले बेड पाइएन भनेर पन्छिन नहुने बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै संकटका बेला राज्य हतास नभइ नागरिकलाई ढाडस बन्नुपर्ने सुझाव दिएका छन् । महामारीबाट जोगिन जनतालाई अपील गर्नु स्वभाविक भएपनि राज्य नै काम गर्न सकन्न भनेर आत्तीनुले जनतामा नकारात्मक असर पर्ने बताए ।
प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद ! युद्धस्तरमा समाधान खोजौं !’ जारी विज्ञप्तिमा भनिएको छ । ‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ ।’
संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ भन्दै बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पुरा हुन नसक्ने कांग्रेसले जनाएको छ ।
त्यस्तै परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन कांग्रेसले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया