भारतमा भयावह बन्दै कोरोना : एकैदिनमा ४ लाख बढीमा संक्रमण

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या विगत २४ घण्टामा चार लाख नाघेको छ ।

कोरोनाभाइरसको महामारी शुरु भएदेखि दैनिक सङ्क्रमितको संख्या यो नै सबैभन्दा धेरै भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतभरी कूल चार लाख एक हजार ९९३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

योसँगै अहिलेसम्म देशभरी कूल संक्रमितको संख्या एक करोड ९१ लाख ६४ हजार ९६९ पुगेको अधिकारीहरूले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण सोही अवधिमा तीन हजार ५२३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेकोे छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ११ हजार ८५३ पुगेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको संख्या ३२ लाख ६८ हजार १७० रहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट संक्रममणमुक्त भएका छन् ।

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?