एनएसएल : धनगढी शीर्ष स्थानमा, चितवन फेरि जितबाट बञ्चित

काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) मा आज (शनिवार) को पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा अपरान्ह २:३० बजे खेलिएको सो खेलको पहिलो हाफमा चितवनले बल पोसेसनमा हैकम जमाएपनि गोल गर्ने मौका पटक पटक खेर फालेको थियो।

दोस्रो हाफमा खेलले अर्कै मोड लियो। खेलको ६४औं मिनेटमा निशान खड्काको क्रसमा निशान लिम्बूले गोल गर्दै धनगढीलाई अग्रता दिलाए। त्यसको ५ मिनेट पनि नबित्दै खेलको ६९औं मिनेटमा निशान लिम्बूको क्रसमा ओलावाले अफिजले हेडर गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाए।

खेलको ८०औं मिनेटमा ओलावालेको पासमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३-० को सहज जित दिलाउन सफल भए।

खेलको ‘म्यान अफ दि म्याच’ धनगढीका निशान लिम्बू घोषित भए भने ‘इमर्जिङ प्लेयरमा’ धनगढीकै बुद्ध बल तामाङ चुनिए।

यो जितसँगै धनगढीले ४ खेलमा ७ अंक बटुल्दै शीर्ष स्थान ओगटेको छ। चितवनको पहिलो जितको खोजी भने अझै जारी नै छ। ३ खेलमा २ अंक सहित चितवन प्रतियोगिताको अन्तिम स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?