काठमाडौं। इंग्लिश प्रिमियर लिग अन्तर्गत आज (शनिवार) खेलिएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको छ।
क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा नेपाली समय अनुसार साँझ ५:१५ बजे शुरु भएको खेलमा पाहुना टोलीले जित निकाल्न सफल भएको हो। यो जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि चुम्न मात्र एक जितको खाँचो रहेको छ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा अन्त्य गरेको प्यालेसले दोस्रो हाफमा भने सिटीलाई रोक्न सकेन।
आफ्नो भेट्रान खेलाडी सर्जियो अग्वेरोको उत्कृष्ट गोलमा सिटीले ५७औं मिनेटमा अग्रता लिन सफल भयो। त्यसको अर्को मिनेटमै फेरान टोरेसले गोल गर्दै सिटीको अग्रतालाई दोब्बर बनाए।
२ मिनेटको अन्तरालमा २ गोल खाएको प्यालेसको टोली त्यसपछि खेलमा निरिह देखियो। म्यानचेस्टर सिटीको बल पोसेसन र खेलमा नियन्त्रणको जवाफ प्यालेसको खेलाडीहरसँग थिएन।
४ वर्षको अन्तरालमा आफ्नो तेस्रो प्रिमियर लिग उपाधि उठाउन सिटीले धेरै समय कुर्नुपर्ने देखिंदैन। केवल एक जितको दूरी छ सिटी र उपाधिको बिचमा। यदि लिभरपुलले आईतवारको खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको खण्डमा म्यानचेस्टर सिटीले स्वतह उपाधि जित्ने छ।
सिटीको ३४ खेलमा ८० अंक रहेको छ भने युनाइटेड ३३ खेलमा ६७ अंक सहित दोस्रो स्थानमा छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया