काठमाडौँ, २० असोज ।प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गर्दै मंसिर १० र २१ गते हुने प्रदेश/प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँड, न्यूनतम निर्वाचनका साझा कार्यक्रमलगायत विषयमा अगामी बैठकमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।ती आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा नेकातर्फबाट सहभागी नेता पूर्णबहादुर खड्काले राससलाई दिएको जानकारी अनुसार आज साँझ बस्ने कार्यदलको बैठकमा गठबन्धनका साझा नीति तथा कार्यक्रमका बारेमा विस्तृतरुपमा छलफल हुने बताए ।उनका अनुसार बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी थिए ।कार्यदलका संयोजक खड्काले संविधान कार्यान्वयन गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न बृहत् लोकतान्त्रिक गठबन्धनको गठन भएको स्पष्ट पारे ।कार्यदलको अर्काे बैठक आज साँझ ५ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया