टेकसिँह धामी / धनगढी । कैलालीमा संसद विघटनको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
घोडाघोडी नगरपालिका २ साडेपानी बजारको चोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र निकट भातृ सङ्गठन युथ कम्युनिष्ट लिग नेपाल (वाई सेल)ले आइतवार विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो । विरोध प्रदर्शन गर्दै उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
वाई सेलले जनताको स्वास्थ्य र संविधानमाथिको खेलबाड भारी पर्नेछ, जनतालाई अक्सिजन, औषधी र आईसियुको तत्काल व्यवस्था गर, जनताको जीवन अस्त व्यस्त, केपी एण्ड कम्पनी प्रतिगमनमा व्यस्त, जनतालाई चुनाव होइन अक्सिजन औषधी र आईसियुको आवश्यकता भन्दै नाराबाजी गरेको थियो ।
अदालतले पुनः स्थापना गरेको संसद्को दोस्रो पटकको विघटन सार्वभौम जनतामाथि गरिएको निरङ्कुश र अधिनायकवादी डकैती रहेको वाईसेल नेपालका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विनोद अधिकारीको भनाई छ ।
वाईसेल नेपालले बजारमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको उल्टो फोटो समेत टाँसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया