माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

लोकपथ
259
Shares

चन्द्रकला कार्की / काठमाडौं-

सीमसीम पानी परिरहेको छ। भक्तपुरको जडीबुटीबाट लोकन्थली जाने गल्लीको अलिक भित्रपट्टी एउटा चौर छ- केहि घाँस उम्रेर हरियो देखिन्छ ।

त्यहिँ नजिकै हातमा लौरो बोकेर टुसुक्क बसीरहेकी आमा यताउता हेर्दैछिन् ।

टाउकोमा फुस्रो रङको मजेत्रो, कम्मरमा पछ्यौरा बाँधेकी । (ढाड दुख्ने रोगले सताएर धेरै वर्षदेखि उनको कम्मरले पछ्यौराको आड मागेको रहेछ ।) कम्मरमा टमक्क बाँधिएको पछ्यौराभित्र एउटा छाता पनि । सिमसिमे वर्षातको कारण उनले छाता ओढ्न आवश्यक ठानेकी छैनन् । उनका अगाडी चौरमा लस्करै चरिरहेका छन् भेडाहरु । निथ्रुक्कै भिजेपनि तिनले जमिनमा पलाएको हरियोपरियो देखेसम्म चर्न छोडेका छैनन् ।

साहिली महर्जनको जन्म काठमाडौंमा भयो । उमेर ५६ वर्ष कट्यो । उनका अगाडी मस्तसँग चर्दै गरेका भेडाले साहिली र उनको माईतीबीचमा सेतुको काम गरेको छ ।

‘करीब ३० वर्ष अगाडीको कुरा हो ।’ साहिली सम्झन खोज्छीन् ।

साहिलीलाई माईतीले ‘पेवा’ को रुपमा उपहार भन्दै उनलाई एउटा भेडा दिएका रहेछन् ।

‘न पढाईलेखाई न कुनै सीप । त्यतिबेला सबै केटीहरुको अवस्था त्यस्तै थियो । हाम्रा केटा साथीहरु पनि खासै धेरै पढलेख गरेका छैनन् । समय नै त्यस्तै थियो त्यो । त्यही एउटा ‘पेवा’ भेडालाई नै स्याहार गरेर पोहोरको सालसम्ममा ८२ वटा भेडा बनाएँ ।’ उनी भन्छिन् , ‘कति वटा बेचेँ त थाहा छैन तर समय समयमा बेच्दै गएपनि पोहोर एक चोटी ८२ वटा भएको थियो।’

विश्वलाई आक्रान्त बनाएको कोरोनाको कहर र यसको विषम परिस्थितीको कारण सरकारले पोहोर साल पहिलोपटक लागू गरेको लकडाउनको नीतिले सम्पूर्णलाई अप्ठेरो पुर्‍यायो। कोभीडको कारण बाहिर निस्कन नपाउँदा खोरभित्रै थुन्दाथुन्दा साहिलीले पालेका भेडा बाफिएर एकैचोटी २६ वटा जति त मरेरै सकीए । उनले आँखाभरी आँशु पार्दै भनिन् । उनी निराश हुँदै थप्छिन्, ‘भेडाको मूल्य सानोदेखी ठूलोसम्म हेरीहेरी बेच्ने गरेको छु । ती मरेका भेडाबाट क्षति मात्रै भयो । सरकारले सुने पो !’

‘भर्खर जन्मिएको भेडाको पाठालाई कति पर्छ आमा ?’ लोकपथले उनीसामू प्रश्न तेर्सायो ।

‘त्यस्तै ३ हजार /पैतिस सय पर्छ । उनले यहि आधारमा हिसाब निकालेकी छिन् । पोहोर सरकारले लगाएको लकडाउनको नीतिले ५६ वर्षिया वृद्धाले दुखले पालेका भेडा मर्दा १ लाख रुपैयाँभन्दा बढ्ता घाटा बेहोर्नुपरेको छ । तर यसपालिको निषेधाज्ञामा पोहोरको जस्तो नभएको र एक आर्कासँग टाढा भएर साईलीले बाहिर निस्किन अनी ती भेडाहरुको स्याहारसुसार गर्न सहज महशुस गरेकी छिन् । तर कता कता उनको मनमा डर छ । कतै कोभीड बढ्दै गएर पोहोरको जस्तै मेरा भेडाहरु मर्ने त हैनन् ?

कोरोनामा सरकारले सिकाएको जस्तै घरभित्रै बस्नुपर्छ उनले नबुझेकी होईन् । तर भोकले भेडा छट्पटाएर साहिलीलाई बसिटिक्न दिँदैनन् । त्यसैले उनका श्रीमान १० पर्ष अगाडी देखी नै दमका रोगी भएका कारण उनीमार्फत् कोरोना घरसम्मै पुग्छ कि भन्नेमा उनी होसीयार भएपनि भेडा चराउन निस्कन विवश छिन् । यहि भेडा बेचेर आएको आम्दानीबाट नै आफ्नो श्रीमानको उपचार गराउँदै आइरहेकी साहिलीलाई सरकारले उनीजस्तै निमुखा जनताको लागि केहि गर्ला भन्ने आश छैन । हुन त उनका २ सन्तान छन् । एउटा छोरा र एउटी छोरी । एक अस्पतालमा सहयोगीको रुपमा काम गर्ने छोरी र ठेक्कापट्टाका काम गर्ने छोरा । तर यतिबेला निषेधाज्ञाको कारणले छोराको काम भने भएको छैन छोरीको भने हस्पीटलमा भएर काममा गइराख्छीन् । उनले सुनाईन् । ‘नातिनी पनि छिन् कहिले काहिँ लिएर आउँछु रमाइलो मान्छिन्। साईली फुरुंग सुनिईन् । बुहारीले नै खाना बनाएर ठिक्क पारेर राख्ने गरेकी छिन्।

साहिली हौसिँदै सुनाउँछिन्, \मेरो त डिउटी नै यी नै भेडा हुन् बिहानदेखी बेलुकासम्म।’

साहिली र उनले पालेका भेडा उनी आफैलाई पर्यावाची जस्तो लाग्न थालेको रहेछ । भन्छिन्, ‘धेरै पहीलादेखी पालेकोले होला मलाई यी  भेडा  माया गर्छन् जस्तो लाग्छ । म यिनलाई निकै माया गर्छु । उनी अट्टाहस हाँस्दै थप्छिन्, ‘साईली भने नी भेडा । भेडा भनेनी साहिली।’

उनलाई भेडाहरु आफ्नो सन्तान जस्तै लाग्छ।

यी भेडाका कारण उनी आफू मुस्कुराउन पाएजस्तै लाग्छ उनलाई । साहिली महर्जन बिहानै उठेर सबभन्दा पहिले तिनै भेडाको खोरमा पुग्छिन्। उनीहरुलाई खोले र घाँस दिएपछि मात्र उनी आफ्नो लागि चिया सम्झन्छिन् । मलाई यिनलाई बिहान खोरमा पुगेर पेट भर्न दिएपछि बल्ल ढुक्क लाग्छ । उनले दैनिकी सुनाईन् ।

‘त्यसपछि मात्र म मेरो अर्थोक मेलो लाग्छु । मेरो माईतीले यो भेडा नदिएको भए त के पो हुन्थ्यो । अर्काको घरमा भाँडा माझ्न जानपर्थ्यो होला । हात नंग्रा खियाउँदा पनि पेट पाल्न धौधौ हुन्थ्यो होला । पढे लेखेको पनि छैन । मान्छेले शोषण गर्थ्योहोला है नानी ?’ उनी सशंकित छिन् ।

पछिल्ला समय भएका बलात्कार र दुर्व्यवहारका घटनातिर उनले संकेत गरिन् । हुन पनि ३० वर्ष जो भयो, उनले यही काम गर्दै आएको।

महिनामा ८ /९ दिन उनी घाँस पनि काट्न जाने गरेकी छिन् तर धेरै भेडा भएकोले साध्य नलाग्ने उनी बताउँछिन्। जसोतसो गरेर घाँस काटे पनि बोकेर ल्याउन उनलाई साह्रै गाह्रो हुन्छ । त्यसैले नियमित खुवाउनको लागी पराल किनेर ल्याउँछिन् उनी । पानी र पिठोमा मोलेर घुसा बनाएर खुवाउछिन्। भेडा उफ्रदै खान्छन् । ‘सानो बच्चाहरुलाई आफ्नै हातले सानो सानो डल्ला पारेर पिठो खुवाउँछु । सानो छँदा छोराछोरी स्याहार गरेजस्तो अनुभव हुन्छ । फरक यति त हो हामी मान्छे उनीहरु पशु । मान्छे भन्दा ज्ञानी छन् जे भन्यो त्यही मान्छन् ।’ उनले आमा हुनुको । आफ्नै भएकाले कसैको दवाब नभई स्वतन्त्र काम गर्न पाउँदा उनलाई छुट्टै खुसी मिलेको छ ।

पोहोरको लकडाउनमा धेरै भेडा मरे । साहिली रातभरी निदाउन सकिनन् । उज्यालो हुनेबित्तिकै गोठमा गएर भेडालाई बोलाउँथिन् । पैसाको पनि घाटा । त्यसमाथि आफूसँगै पालेको भेडा मर्दा घरको परिवारको सदस्य नै गुमाए जस्तो महशुस गरीन् उनले ।

मेहनत र धैर्यतालाई सधै आत्मसाथ गरी निरन्तर आफ्नो कामप्रति बफादार र इमान्दार भएर अगाडी बढ्यो भने ढिलो होला तर अवश्य सफलता मिल्नेछ भन्ने एउटा गतिलो उदाहरण हुन् साईली महर्जन। माइतिले पेवामा दिएको एउटा भेडालाई हुर्काएर त्यसैबाट उनले लाखौँ कमाईन् । मासिक ५० ६० हजार रुपैयाँ कमाउन उनलाई कुनै ठूलो कुरा छैन । उनको आम्दानीको मुख्य स्रोत नै भेडा हो । अब साहिली हात पाउले काम गरीरहँदा सम्म यी भेडाहरुसँगै रमाउन र कमाउन चाहन्छिन् । यी नै भेडाको कारण श्रीमानको उपचार खर्चदेखी सम्पूर्ण घरखर्च सम्म धानिरहेकोमा उनी कृतज्ञ छिन् ।

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?