काठमाडौं । सरकारले मंगलवार (आज) देखि देशैभरी खोप अभियान सञ्चालन गरेको छ ।
६० वर्षदेखि ६५ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई लक्षित गरी यो खोप अभियान सञ्चालन गरेको हो । ६० देखि ६४ वर्ष उमेर समूहका करिब ८ लाख मध्ये ५ लाखले खोप लगाउने अनुमान गरिएको छ ।
८ लाख मध्य ३ लाखले विभिन्न माध्यमले यसअघि कोभिशिल्ड खोप लगाइसकेको र भेरोसेल खोपको यसअघिको अभियानमा पनि लगाइसकेको हुँदा यो अभियानमा ५ लाख जना जेष्ठ नागरिकले खोप लगाउने स्वास्थ्य मन्त्रालयको अपेक्षा छ ।
खोप लगाउन खोप केन्द्रमा जाँदा आफ्नो परिचयसहित उमेर खुल्ने कागजपत्र लैजानु पर्नेछ । यस्तो परिचय खुल्ने कागजपत्र नभए सम्बन्धित वडाले सिफारिस गरेका आधारमा खोप लगाउन सकिने जनाएको छ ।
काठमाडौं महानगर क्षेत्रमा पनि आज (मंगलवार) ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोभिड १९ विरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइएको छ। खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरिएको छ ।
आज काठमाडौँको ३२ वटा केन्द्रबाट खोप लगाइएको छ। खोप लगाएका सर्वसाधारणले खुसी व्यक्त गरेका छन्। भोलि जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाइने छ ।
काठमाडौँका विभिन्न खोप केन्द्रमा देखिएको दृश्यलाई हामीले कैद गरेका छौं।
तस्वीर : राजेश विक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया