पशुपतिनाथको कल्याण कसले गर्ने ?

विश्व सम्पदा सूचिमा समावेश हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको ब्यवस्थापन र विकास निर्माण अस्तब्यस्त हुन पुगेको छ।

त्यसैकारण पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकाल बारम्वार विवादमा तानिँदै आएका छन् । सदस्य सचिव ढकाललाई सबैभन्दा विवादित बनाएको विषय हो, भारत सरकारले बनाइदिएको नेपाल-भारत मैत्री धर्मशालालाई होटलमा परिणत गर्नु ।

धर्मशाला : कौडीको भाउमा ब्यापारीलाई

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ भदौमा उद्घाटन गरेको यो धर्मशाला विगत दुई वर्षदेखि तारे होटलका रुपमा संचालन भइरहेको छ ।

३४ करोड रुपैंया लागतमा १९ रोपनी जग्गामा निर्माण भएको यो ३ तलाको ४ सय बेडको धर्मशालालाई बतास अर्गनाइजेसन अन्तर्गतको होटल आनन्द प्रालिले १५ वर्षका लागि कौडीको भाउमा भाडामा लिएको हो । कोषले लिज आउटसम्बन्धी कार्यविधि २०७५ स्वीकृत नहुँदै बतास अर्गनाइजेसनसँग सम्झौता गरेको थियो ।

काठमाडौं उपत्यकामा एउटा घर भाडामा दिने व्यक्तिले न्यूनतम वार्षिक १० प्रतिशत भाडा बढ्ने गरी सम्झौता गरेको हुन्छ । पशुपति आसपासको एक रोपनी खाली जग्गा भाडामा लिँदा नै मासिक झण्डै ५ लाख रुपैंया पर्छ ।

तर कोषको मिलेमतोमा १९ रोपनी क्षेत्रफलमा फैलिएको ३ तले सुविधासम्पन्न भवनको बतास अर्गनाइजेशनले जम्माजम्मी वार्षिक एक करोड रूपैयाँ भाडा तिर्छ । प्रत्येक वर्ष ५ प्रतिशतले मात्र भाडा बढाउने सम्झौता गरिएको छ। यसरी हेर्दा १५ औँ वर्षमा २ करोड ८ लाख मात्रै पुग्छ ।

सम्झौतामा कोषको सहमति विना बतासले संरचना फेरबदल गर्न नपाइने उल्लेख भएपनि अहिले संरचनाहरु आफू अनुकुल बनाउँदै लगिएको छ ।

अझ विडम्वना त के छ भने बतास अर्गनाइजेसनले फेरि उक्त भवन अर्कैलाई भाडामा लगाएको छ। आफ्नो कर्पोरेट कार्यालयदेखि गाडीको ’शो-केस’ समेत त्यहि बनाएको छ। यति मात्रै होइन ट्राभल कम्पनी, लेखापढी फर्म, मेनपावर कम्पनीदेखि रेष्टुरेन्ट समेत संचालन भईरहेको छ।

पछिल्लो समय उक्त धर्मशालामा विवाह, ब्रतवन्ध जस्ता उत्सवमय कार्यक्रमहरु हुँदै आएको छ। बतास अर्गनाइजेशनले विवाहलगायत कार्यक्रमका लागि धर्मशालाको केही कोठा भाडामा लिँदा तीन दिनको १० लाख रुपैंया असुल्ने गरेको छ।

सुविधासम्पन्न भवन र जग्गा कौडीको भाउमा भाडामा लिएको बतासले मासिक करोडौं रकम आम्दानी गरिरहेको छ । तर विडम्वना कोरोनाको बहाना गरि भाडा छुट गर्न माग गर्दै कोषमा आवेदन समेत दिएको छ।

कोषका पूर्व सदस्य सचिव शुसिल नाहाटा जुन प्रयोजनका लागि संरचना निर्माण भएको हो सोही अनुरुप प्रयोग हुनुपर्ने बताउँछन् । विश्व सम्पदा सूचिमा समावेश क्षेत्रमा भएको यस्तो कार्यले छिमेकी मुलुकहरुसँग अनुहार लुकाउनुपर्ने अवस्था आएको भन्दै उनले भने, “दातासँग बलात्कार गरेको जस्तै हो यो ।”

अर्का पूर्व सदस्य सचिव गोविन्द टन्डन पनि धर्मशालालाई होटलमा परिणत गर्नु गलत भएको बताउँछन् । यसले छिमेकी मुलुकसँगको सम्वन्धसमेत बिग्रिने उनको भनाइ छ। “झण्डै ३० वर्षदेखिको पहलले बनेको धर्मशाला प्रयोगमै नआइ होटलमा परिणत गर्नु विडम्वनाको कुरा हो,” उनले भने ।

कोषका सदस्य सचिव प्रदीप ढकाल भने सार्वजनिक खरिद ऐन तथा अन्य प्रचलित कानुनअनुसार भाडामा लगाइएको बताउँछन् । यस विषयमा सार्वजनिक सूचना प्रकाशन गर्नुका साथै कोषको कार्यसम्पादन समितिको निणर्यका आधारमा निणर्य गरिएको उनको दावी छ। धर्मशालामा मदिराजन्य पदार्थ विक्रि भएको विषयमा अनुगमन हुने उनको भनाइ छ ।

बालुवामा पनि ७२ करोड घाटा

यस्तै गोठाटारस्थित पशुपतिनाथको ५३४ रोपनी जग्गाको बालुवा विचौलियालाई दिन योगेश भट्टराई मन्त्री हुँदा कोषलाई ७२ करोड रुपैयाँ घाटा हुने गरी सदस्य सचिव ढकालले निणर्य गराएकोमा पनि स्थानीय तथा सरोकारवालाहरुको आपत्ति छ । यस विषयमा ढकालले आफ्नो  क्षेत्राधिकार मिचेको जानकारहरु बताउँछन्।

गुरुयोजना अलपत्र, डोजर चलाएर चर्चा

पशुपति क्षेत्रको गुरुयोजना तयार गर्ने विषयमा पनि विवाद सिर्जना भएको छ । २०६८ यता पटक पटक पहल भएपनि गुरुयोजना तयार हुन सकेको छैन । तर यसकै लागि भनेर वर्षेनी करोडौं रकम खर्च हुने गरेको छ । गुरुयोजना निर्माणका लागि स्थानीय, विषयविज्ञ र सरोकारवालाहरुसँग विशेष छलफल गर्नुपर्ने भएपनि त्यो हुन नसकेको भन्दै पूर्व सदस्य सचिवहरुले नै विरोध जनाउँदै आएका छन्।

जसले गर्दा पशुपति क्षेत्रको गुरुयोजना अहिले अलपत्र परेको छ। तर, कोषले बेलाबेला बिनायोजना अस्थायी टहराहरुमा डोजर लगाएर चर्चामा आउने काम मात्रै गरिरहेको छ। केही दिन अघि मात्रै पनि कोषले सर्वसाधारणको टहरामा डोजर चलाएर चर्चा कमाएको थियो ।

भक्तजनले चढाएको जिन्सीमा नजर

पशुपतिनाथको जिन्सी सामग्रीको अभिलेख राख्ने प्रक्रियामा समेत सदस्य सचिव ढकाल निस्क्रिय छन् । यसले गर्दा पशुपतिनाथमा चढाइने जिन्सी सामग्रीहरुको चरम दुरुपयोग भईरहेको छ । ‘सुनलाई सुन भनेर छुट्याउनु पर्‍यो, पित्तललाई पित्तल भन्नुपर्‍यो, पहेलो धातु भनेर एकैठाउँमा राखेर हुन्छ ?’ विकास कोषकै कर्मचारी यस्तो प्रश्न गर्छन्।

पशुपतिमा भक्तजनहरुले दैनिक लाखौं रुपैंयाको सामग्री चढाउने गर्छन् । बहुमूल्य सुनचाँदीको समेत उचित लगत नराखिएबाट थाहा हुन्छ अन्य सामग्रीहरुको दुरुपयोग कति भएका होलान् ?

सुस्त पुन:निर्माण

यति मात्रै होइन २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक सम्पदाको पुनर्निर्माण समेत सुस्त देखिएको छ। काठमाडौं उपत्यकाका अधिकांश धार्मिकस्थलको पुनर्निर्माण सम्पन्न भइसक्दा विश्व सम्पदा सूचिमा समावेश पशुपति क्षेत्रको पुनर्निर्माण ५० प्रतिशत पनि पुगेको छैन ।
पशुपतिनाथको नाममा झण्डै ११ हजार रोपनी जग्गा रहेकोमा अहिले धमाधम हराउन थालेको छ।

फेरि नियुक्ति पाउन शक्तिकेन्द्र धाउँदै ढकाल

विवादित छविका सदस्य सचिव ढकालको आगामी साउन महिनामा कार्यकाल सकिने हुँदा स्रोतका अनुसार आफु पुनः सदस्य सचिवमा आउन र कोषाध्यक्षमा महन्थ ठाकुर गुटबाट नवराज लम्साललाई ल्याउनका लागि समेत नीज छिमेकी मुलुकको नेपालस्थित दूतावासदेखि शक्ति केन्द्रहरु धाइरहेका छन् ।

उनको पहिलो नियुक्ति पनि जितेन्द्र देव संस्कृति मन्त्री हुँदा देशविदेशका शक्तिकेन्द्रहरुको सहयोगमा भएको स्रोतको दावी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?