सर्वाेच्च अदालतले एमाले र माओवादीलाई आ–आफ्नो बाटोमा हिड्नु पर्ने फैसला गरेपछि माओवादीमा राम्रै प्रभाव भएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी,लेखराज भट्ट, मणि थापा,गौरीशंकर चौधरी,प्रभु साह र दावा लामा एमाले तर्फ लागे ।
यीमध्ये थापा र लामा सांसद थिएनन् । अरु पाँच जना सांसद थिए । तीमध्ये बादल राष्ट्रिय सभा सदस्य थिए भने अरु चार जना प्रतिनिधि सभाका सांसद थिए । माओवादी छाडेर आफूतिर आएका सातैजनालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मन्त्री बनाए । फागुन २८ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यी सातसहित माओवादीबाट एमाले प्रवेश गरेका २३ जनालाई केन्द्रीय कमिटिमा मनोनित गरे ।
एमालेको आन्तरिक कलह चर्किदै जाँदा अब फेरि एमाले २०७५ जेठ २ मा फर्किने (एमाले र माओवादी मिलेर २०७५ जेठ ३ मा नेकपा बन्नुअघिको स्थिति) अवस्था आउने स्थिति देखा पर्दैछ ।
स्रोतका अनुसार यसका लागि प्रधानमन्त्री ओली तयार देखिएका छन् । एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षको माग पनि यही हो । नेपाल र खनालले ओलीले प्रतिनिधि सभा विघटनको कदमलाई पनि फिर्ता लिनुपर्ने बताइरहेका छन् । ओली पक्षले नेपाल–खनाल पक्षका सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनु पर्ने बताइरहेको छ । स्रोतका अनुसार यी कुरा मिल्न बाँकी छ । एमाले पूर्ववत् अवस्थामा फर्किदा माओवादीबाट एमालेमा गएकाहरु भने यता न उता हुने अवस्था देखिएको छ ।
माओवादीबाट एमालेमा प्रवेश गरेका बादल माओवादीमा रहँदा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वास गरेका नेता हुन् । २०७४ फागुन १४ मा प्रचण्डले बादललाई गृहमन्त्री बनाउन सिफारिस गरेका थिए । माओवादीमै रहँदा पनि उनीसँग जनाधार थिएन । उनी अवसरका लागि यताउता गरिरहने नेतामा पर्ने माओवादीका एक नेताको भनाई छ ।
ओलीले प्रचण्डलाई आफुसँग माओवादीका नेता पनि छन् भनेर देखाउनका लागि अहिले काखी च्यापे पनि एमाले पूर्ववत अवस्थामै फर्किएमा बादलको हैसियत खस्किने एमालेकै नेताहरु बताउँछन् । अर्काे कुरा नवप्रवेशी भएकाले अरु पार्टीमा जस्तो एमालेका कार्यकर्ताले बादललाई पत्याइहाल्ने अवस्था नरहेको एक एमाले नेता बताउँछन् । ओलीको पक्षमा लाग्दा बादलले ओलीका विरोधी प्रचण्डलगायत विपक्षीलाई चिडियाखानामा लैजानु पर्ने सम्म भन्न भ्याएका थिए । अहिलेसम्म बादलले ओलीको आर्शिवाद पाएका छन् । उनले आफू गृहमन्त्रीबाट हटेपनि २७ जेठमा श्रीमती नैनकला थापालाई संचारमन्त्री बनाउन सफल भएका छन् उनी एमाले प्रवेश गरेपछि बागमती प्रदेशमो इन्चार्ज बनेका छन् । उनलाई ओलीले इन्चार्ज बनाएकामा एमालेभित्र ठूलो असन्तोष छ ।
उता ओलीको कट्टर विरोधी रहेका एमाले नेता भीम रावलको शेखी झार्न सुदुरपश्चिम प्रदेशको जिम्मेवारी पाएका माओवादीबाट एमाले प्रवेश गरेका लेखराज भट्टको अवस्था पनि उस्तै छ । उनलाई न एमालेका नेता कार्यकर्ताले पत्याएका छन् न त माओवादीकै कार्यकर्ताले । अव त उनी सांसद पनि छैनन् । माओवादीले एमालेमा प्रवेश गरेको भन्दै सांसद पद खारेज गरिसकेको छ । माओवादीबाट एमालेमा गएर सांसद पद खारेज भएपनि उद्योग मन्त्री रहेका उनलाई गत जेठ ६ मा सर्वाेच्च अदालतले सांसद नभएकालाई मन्त्री बन्न नपाउने फैसलाले मन्त्री पदमै बसिरहन दिएन् । एमालेमा अहिले उनी कार्यकर्तासँगको चिनजानमै दिन बिताउने गर्छन् ।
यस्तै सुदुरपश्चिमकै गौरीशंकर चौधरी पनि एमाले प्रवेश गरेका मध्यमा माओवादीमा रहँदा पार्टीमा प्रभाव भएका नेतामा पर्थे । माओवादीमा पटक–पटक अवसर पाएका थिए । उनी पनि सर्वाेच्चको फैसलासंगै मन्त्रीबाट हटेका थिए । पछिल्लो पटक मन्त्रिपरिषद विस्तारमा पनि उनी परेनन् । चौधरीको पनि अहिले एमालेमा भने खासै भूमिका नरहेको एमाले कार्यकर्ताको भनाई छ । एमाले कार्यकर्तासँग राम्रो परिचय नहुँदा उनीसँग कार्यकर्ताहरु खुलेर कुराकानी गर्न सकेका छैनन् । कार्यकर्तासँग चिनजानमै दिन बित्ने गरेको चौधरी निकटहरु बताउँछन् ।
एमालेमा गएका अर्का नेता मणि थापा पनि माओवादीमा लामो समय बिताएका नेता हुन् । उनी एमालेमा गएपनि सन्तुलित रुपमा बोल्छन् । उनी कुनै पनि निर्वाचनमा उम्मेदवार बनेका छैनन अहिलेसम्म । उनको पनि दिनचर्या कार्यकर्तासँग चिनजानमै बित्ने गरेको छ । उनी पनि पार्टीमा कहिले कता कहिले कता गरिरहन्छन् ।
प्रदेश नम्बर २ का प्रभु साह पनि सधै अवसरको खोजीमा एमालेमा प्रवेश गर्ने मध्येमा पर्छन् ।माओवादीमा रहँदा उनी नेतृत्वले पत्याएकै नेतामा गनिन्थे । उनले माओवादीमा रहँदा पार्टीको विभिन्न तहमा बसेर काम गरेका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गर्दा साह त्यसको विरोधमा थिए । तर पछि ओलीसँग नजिक हुन पुगेका साह शहरी विकास मन्त्री बने । प्रदेश २ वरिष्ठ नेता नेपालको गृहजिल्ला भएकाले पनि साहलाई ओली पक्षका कार्यकर्ता बाहेक एमालेका अरु कार्यकर्ताको साथ छैन् ।
अर्घाखाँचीका टोपबहादुर रायमाझी पनि माओवादीमा रहँदा पार्टीमा प्रभाव भएका नेतामा गनिन्थे । तर एमालेमा आएपछि उनी एमालेको ओली पक्षको मात्रै नेता बने,साझा नेता बन्न सकेनन् । माओवादीले उनलाई उपप्रधानमन्त्री सम्म बनाएको थियो । उनलाई एमाले वरिष्ठ नेता नेपाल पक्षले पत्याउँदैन् । उनको पनि अहिले एमालेका कार्यकर्तासँगको चिनजानमै दिन बित्ने गरेको छ । उनी पनि पछिल्लो पटक बिस्तार गरिएको मन्त्री परिषदमा अटाउन सकेनन् ।
एमालेका एक नेताका अनुसार तत्कालीन परिस्थितिलाई हेरेर ओलीले उनीहरुलाई रणनीतिक रुपमा पार्टीमा भित्र्याएपनि अव त्यसको औचित्य नहुन पनि सक्छ । त्यो भन्दैमा पार्टीमै नअटाउने भन्ने होइन । तर जिम्मेवारी र अवसर भने अहिले जसरी पाउन नसक्ने बताउँछन् । किनकि एमालेमा माओवादीबाट आएका भन्दा लामो समयसम्म पार्टीमा लागेर संघर्ष गरेका नेता तथा कार्यकर्ता छन् ।
एमाले २ जेठ २०७५ मा फर्किने अवस्था र यदि सर्वाेच्च अदालतले पुन प्रतिनिधि सभा व्यूँताइदियो भने माओवादीबाट एमालेमा आएका नेताहरुको खासै भूमिका नहुने ती नेताको भनाई छ । तर राजनीतिमा यसो नै हुन्छ भनेर भन्न सकिन्न । “अझ बढी अवसर पनि उनीहरुले पाउन सक्छन् । त्यो समय र परिस्थितिले निर्धारण गर्ने हो”,ती नेता भन्छन् ।
प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन (जेठ ७,२०७७) गरेयता दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले ११ मन्त्री पाउँदा माओवादीबाट एमाले प्रवेश गरेका दुई जनाले मात्रै मन्त्री पाएका छन् । जसमा संचार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा र कृषि मन्त्री ज्वाला कुमारी साह रहेका छन् । जसपा ठाकुर पक्षका एक नेताका अनुसार ठाकुर र प्रधानमन्त्री ओलीबीच आगामी निर्वाचनसम्म सँगै जाने सहमति भएकाले जसपाभित्रको असन्तुष्टिलाई मत्थर पार्न धेरै मन्त्री बनाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया