मलेखु, धादिङ, ८ चैत – दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, कात्राक गाउँको खानेपानीको मुहानमा विषको बोतल भेटिएपछि सो मुहानको पानी प्रयोग गर्न गाउँबासीलाई रोक लगाइएको छ ।कात्राकमा ल्याइएको पानीको मुहानमा विषादि हालिएको शंका लागेको र पानीमा समेत अनौठो गन्ध आएकाले पानी प्रयोग गर्न रोक लगाइएको वडाध्यक्ष भुवन त्रिपाठीले बताउनुभयो । प्रहरी अनुसन्धानका क्रममा पानीको मुहानमा लारा ९९० नामको विषादिको बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, वडाध्यक्ष त्रिपाठी र प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाको टोली घटनास्थलमा पुगेर स्थलगत अनुगमन गर्दा पानीको गन्ध र देखिएको कणका आधारमा कात्राक खानेपानीको मुहानमा विषादि मिसाइएको शंका गरिएको हो । सो मुहानको पानी ५० घरधुरीले प्रयोग गर्दै आएका छन् । अनुसन्धानपछि खानेपानीको मुहानमा विषादी मिसाइएको शंका भएपछि प्रयोगशालाका लागि पानी काठमाडौंँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । “ हामी पनि पानीको मुहान, ट्याङ्की तथा पाइप लाइन सरसफाइ गरेर छिट्टै पानीको समस्या समाधान गर्छाैँ”, गाउँपालिकाका अध्यक्ष डल्लाकोटीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया