डाका पक्राउ गर्न जाँदा प्रहरीमाथि आक्रमण, ५ प्रहरी घाइते

वीरगञ्ज, १७ चैत । डाका पक्राउ गर्न गएको प्रहरी टोलीमाथि पर्सामा आक्रमण भएको छ ।डकैती गरेर लुकेर बसेको आशंकामा खोजीका लागि पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा ५ जना प्रहरी घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको पुष्टि गर्दै सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जानकारी दिएको छ । यद्यपि घाइते प्रहरीको ठेगाना र दर्जा खुलाइएको छैन ।घाइते प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् ।पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेलगत्तै स्थानीयहरु प्रहरीमाथि जाइ लागेका थिए ।फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०र१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।झडपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका छन् ।प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय तीन जनालाई पक्राउ गरेको छ । स्थानीय जिर्योधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?