सगरमाथाको शिखरमा बाइसौं पटक पुगेर कीर्तिमान राख्ने लक्ष्य

काठमाडौं, १८ चैत । विश्वकै सबैभन्दा अग्लो शिखर सगरमाथाको शिखरमा पुग्ने कुरा चानचुने विषय होइन । तर ४८ वर्षीया नेपाली आरोही कामी रीता शेर्पा २२ औं पटक सगरमाथाको चुचुरोमा पुग्ने अभियानमा लागेका छन् ।उनी सगरमाथामा सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने कीर्तिमान राख्न आइतवार विश्वको सबैभन्दा अग्लो हिमालतर्फ लाग्दैछन् । अहिले २१ पटक सगरमाथाको सफल आरोहण गरेको कीर्तिमान कामी रीता र अन्य दुई नेपाली आरोहीको संयुक्त रूपमा रहेको छ ।तर ती दुवै नेपाली आरोहीले अवकाश लिइसकेकाले उनले सफल आरोहण गरेमा विश्वको सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुगेको कीर्तिमान उनको नाममा हुनेछ ।उनी अमेरिकामा मुख्यालय रहेको एउटा पर्वतारोहण दलसँग सम्बन्धित कम्पनीमा पथप्रदर्शकका रूपमा कार्यरत छन् । उनले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए र सबैभन्दा पछिल्लो पटक मे महिनामा सगरमाथाको चुचुरोमा पुगेका थिए ।विदेशी पर्वतारोहीहरू हिमाल आरोहणका लागि कामी रीता जस्ता शेर्पा पथप्रदर्शकको सहयोगमा निर्भर हुन्छन् ।उनीहरूलाई आरोहण मार्ग निर्धारण गर्न, डोरीहरू बाँध्न र आवश्यक पर्वतारोहणसम्बन्धी सामानहरू लैजान शुल्क तिर्ने गरिन्छ । यसपटक कामी रीताको टोलीमा अमेरिकी र जापानी पर्वतारोहीसहित २९ जना छन् ।उक्त आरोहण दल आइतवार सगरमाथा आधार शिविर जाने र अबको दुई हप्तापछि आरोहण शुरू गर्ने बताएको छ ।मौसमको अवस्थाले उनीहरू कहिले सगरमाथाको चुचुरोमा पुग्छन् भन्ने निर्धारण गर्नेछ । कामी रिताले मे २९ मा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य लिएका छन् ।तर आफ्ना नाममा नयाँ कीर्तिमान कायम भए पनि आरोहणलाई निरन्तरता दिने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?