स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौँ, १९ चैत- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् ।स्वास्थ्यराज्यमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक लोहनीलाई केही समयदेखि खाली रहेको विभागको महानिर्देशक पदमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए ।स्वास्थ्य सेवा विभागको महानिर्देशकमा बाह्रौँ तहका कर्मचारी नियुक्त गर्नुपर्ने प्रावधान भएपनि लोहनी एघारौँ तहका कर्मचारी हुन् । स्वास्थ्य मन्त्रालयको बाहौँ तहमा हाल प्रमुख विशेषज्ञ डा सुवास प्याकुरेल मात्र छन् भने बाह्रौँ तहको तीन पद खालीे छ ।त्यसैगरी मन्त्रालयको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखामा महेन्द्र श्रेष्ठलाई ल्याइएको छ भने यो जिम्मेवारी हेरिरहेका डा श्रीकृष्ण गिरीलाई बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ । श्रेष्ठ यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख थिए ।स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठलाई वीर अस्पतालमा सरुवा गर्दै अनुगमन तथा मूल्यांकन महाशाखामा व्यवस्थापन महाशाखाका प्रमुख डा दीपेन्द्ररमण सिंहलाई जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।अनुगमन महाशाखामा व्यवस्थापन महाशाखाका डा भीमसिंह टिंकरीलाई, व्यवस्थापन महाशाखाको जिम्मेवारी डा विकास देवकोटालाई, परिवार स्वास्थ्य महाशाखामा डा तारा पोखरेललाई ल्याइएको छ ।यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा केदार सेञ्चुरीलाई ल्याइएको छ । यसको जिम्मेवारी लिएका डा भीम आचार्यले अवकाश पाएपछि वीर अस्पतालमा कार्यरत सेञ्चुरीलाई राज्यमन्त्री अर्यालले सो जिम्मेवारी दिएको उपसचिव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?