राणा शासनको जगजगीमा आफ्ना धेरैजसो नेताहरू नजरबन्दमा रहेको अवस्थामा नेपाली कांग्रेसको दोस्रो महाधिवेशन सम्पन्न भयो ।
२००५ माघ २० मा आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ नगरेकाले नेपाली राष्ट्रिय कांग्रेसले त्यसको विरुद्ध देशव्यापी आन्दोलन चलाउने तयारीका साथ बनारसमा दोस्रो महाधिवेशन सम्पन्न गर्यो। उक्त महाधिवेशनले जनआन्दोलनको स्वरूप अहिंसात्मक हुने, खुला र जागरण उन्मुख संगठन बनाउने, देशमा नागरिक अधिकारको स्थापना गर्ने, जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको विधान परिषद् (संविधानसभा) मार्फत शासन व्यवस्थाको स्वरूप निर्धारण गर्ने र संविधान बनाउनेलगायतका उद्देश्यहरू निर्धारण गरेको थियो ।
त्यसबेला कांग्रेस नेताहरूले तत्कालीन समयको ‘युगवाणी’ पत्रिकामार्फत राष्ट्रिय कांग्रेस र यसका नेताहरूले जनआन्दोलनको आवश्यकता, मर्म र यसका उद्देश्यहरूका बारेमा आफ्ना धारणाहरू क्रमशः सार्वजनिक गर्दै गए ।
त्यसै क्रममा आन्दोलनलाई अघि बढाउने तयारीका साथ जनतामा संगठन विस्तार गर्नका लागि २००५ असोज २७ मा वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र केदारमान व्यथित गोप्य रूपमा काठमाडौं आइपुगे ।
संगठन विस्तारकै क्रममा वीपी कोइराला गिरफ्तारमा परे । त्यसअघि नै राणा शासनको विरोध गरेको आरोपमा धेरै नेता कार्यकर्ताहरू पक्राउ परिसकेका थिए ।
गिरफ्तारमा परेका नेताहरूले आफ्नो गिरफ्तारीलाई अझै सशक्त आन्दोलनको रूपमा अगाडि बढाउनका लागि नजरबन्दमा रहेका राजबन्दीको स्थिति सुधारका लागि आमरण अनशन सुरु गरे । जसका कारण तत्कालीन समयमा देशमा राजनीतिक हलचलको स्थिति पैदा भयो । साथै त्यस बखत भारतलगायत अन्य अन्तर्राष्ट्रिय समुदायको ठूलो दबाबपछि वीपीलगायत पक्राउ परेका सबै नेता कार्यकर्ताहरूलाई रिहाइ गरिएको थियो । त्यसै क्रममा नेपाली प्रजातन्त्र कांग्रेसको स्थापना हुनपुग्यो ।
राष्ट्रिय कांग्रेसमा डिल्लीरमण रेग्मीको कारण फुट पैदा भएपछि छरिएर रहेका शक्तिहरूलाई एकीकृत गर्ने उद्देश्यका साथ नेपाल प्रजातन्त्र कांग्रेसको जन्म भएकोे थियो । डिल्लीरमण रेग्मीसहित सुवर्ण शमशेर राणाको सक्रियतामा महेन्द्रविक्रम शाह (मुसीकोटे) लाई अध्यक्ष बनाई २००५ साउन १ मा नेपाली प्रजातन्त्र कांग्रेसको स्थापना भयो । जसमा महामन्त्री सूर्यप्रसाद उपाध्याय, सहायक महामन्त्री प्रेमबहादुर कंसाकार, कोषाध्यक्ष राजेश्वरीप्रसाद उपाध्यायलगायत पदाधिकारीहरू रहेका थिए ।
त्यसैगरी सदस्यहरूमा चन्द्रवीर सिंह, महानन्द सापकोटा, भीमभक्तमान सिंह बस्नेत, पूर्णसिंह खवास (ठाकुर), दिलबहादुर राई, लक्ष्मीभक्त उपाध्याय रहेका थिए । कार्यालय सचिवको जिम्मेवारी सुन्दरराज चालिसे र बाबुलाल मोक्तानलाई दिइएको थियो ।
उक्त भेलामा कार्यसमितिमा रहेकासहित ६० जना नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । सोही भेलाले प्रजातन्त्र कांग्रेसले आफ्नो प्रथम महाविधेशन २००५ पुस १६ मा गर्ने निर्णय गर्यो । भारतको कलकत्तामा भएको महाधिवेशनमा राष्ट्रिय कांग्रेसको जस्तै लक्ष्य र उद्देश्य राखेको कांग्रेसले शक्ति प्रदर्शन गर्दै राणाविरोधी गतिविधि सञ्चालन गर्ने उद्देश्य राखेको थियो । त्यस बखत रेग्मी र शमशेरहरूले स्वयंसेवक दल गठन गरी नेपाल प्रजातन्त्र कांग्रेसको मुखपत्रको रूपमा ‘नेपाल पुकार’को प्रकाशनमार्फत जनआन्दोलनको आवश्यकता, मर्म र उद्देश्यका बारेमा आफ्नो धारणाहरू सार्वजनिक गरेको थियो ।
दोस्रो महाधिवेशनको क्रममा आयव्ययको विवरण समेत सार्वजनिक गरिएको थियो । सोही क्रममा अखिल भारतीय नेपाली कांग्रेसका संस्थापक उपाध्यक्ष बालचन्द्र शर्माले खुला अधिवेशनमा गत वर्षको रिपोर्टको व्यहोरा जानकारी समेत दिएका थिए । प्रस्तुत विवरणमा २००५ पुस १६ सम्मको कांग्रेसको कुल सम्पत्ति ७ हजार ५ सय ७४ रहेको थियो । त्यसबापत पनि संस्थाले कोषाध्यक्षलाई ९ सय ११ रुपैयाँ तिर्नुपरेको रहेछ ।
दोस्रो महाधिवेशनमा पनि नेपाली राष्ट्रिय कांग्रेसको सभापतिमा वीपी नै निर्वाचित भए । मानार्थ सभापति टंकप्रसाद आचार्य जेलमा रहेका कारण वीपीलाई नै सभापतिको जिम्मवारी दिइयो । साथै बालचन्द्र शर्मा पौडेल र नरेन्द्रप्रसाद रेग्मीलाई कोषाअध्यक्षसहित वीपीले १५ जनाको कार्यसमिति बनाएका थिए । पछि उनले तीन जनाको नाम घोषणा गरेका थिए ।
राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशनमा भाग लिनका लागि चन्द्रदास राईको नेतृत्वमा सिक्किम राज्य कांग्रेसले एउटा भातृ प्रतिनिधिमण्डल पनि पठाएको थियो ।
उक्त अधिवेशनमा भाषण गर्दै सभापति वीपीले नेपाल एक वर्षअघिको भन्दा निकै अघि बढिसकेको उल्लेख गरेका थिए । साथै भारत वर्षमा भएका परिवर्तनहरूले नेपाली राजनीतिमा समेत असर परेको बताउँदै त्यसबाट जुन परिवर्तन हुन जान्छ त्यसको ठूलो श्रेय नेपाली राष्ट्रिय कांग्रेसलाई पर्ने वीपीको दाबी थियो ।
त्यसबेला वीपीले भनेका थिए, ‘नेपाल जो एक वर्षअघि थियो त्यो आज छैन । हिजो र आजको नेपालमा ठूलो अन्तर परिसकेको छ । यसबीच भारतवर्षमा जे–जे राजनीतिक परिवर्तनहरू भए त्यसको ठूलो राजनीतिक प्रभाव नेपालको राजनीतिमा परेको छ । तर नेपालमा जुन राजनीतिक परिवर्तन हुनेछ त्यसको श्रेय नेपाली राष्ट्रिय कांग्रेसलाई जानेछ । हामीले नेपालमा श्री ५ महाराजधिराजको वैधानिकता अधिनायकत्वमा जनताको उत्तरदायी शासन नै आफ्नो उद्देश्य भन्ने कुरा नेपाली राष्ट्रिय कांग्रेसको उद्घाटनको अवसरमा कलकत्तामा नै निश्चय गरिसकेका छौँ । यदि यस उत्तरदायी शासनको अर्थ केवल खोक्रो वैधानिक परिवर्तन अथवा प्रजातन्त्रवादको बोक्रो सिद्धान्तमा भए यसको हामीलाई कुनै आवश्यकता छैन । हामीले खोजेको उत्तरदायी शासनमा नेपालको सम्पूर्ण जनताको सबै प्रकारको सामूहिक सुख सन्निहित छ । हामीले भावी नेपालको जुन कल्पना गरेका छौँ त्यसमा कोही भोको बस्नेछैन, कोही नांगो रहनेछैन, कोही अशिक्षित हुनेछैन । यो तबसम्म सम्भव छैन जबसम्म स्वयं जनता आफ्नो हक लिनका लागि सामूहिक रूपमा अहिंसात्मक मार्गमा हिँड्न तयार हुँदैनन्। जनता स्वयं यसप्रकार तयार भएपछि विश्वको कुनै शक्ति पनि उसलाई थिचोमिचो पारेर राख्न सक्दैन ।’
यो पनि
कांग्रेसको पहिलो महाधिवेशन : वीपीको त्यो भाषण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया