काठमाडौं, २१ चैत । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले धनगढी प्रिमियर लिग (डिपिएल) मा पहिलो जित निकालेको छ ।विराटनगर किंग्सले डीपीएलमा पहिलो जित हात पार्ने क्रममा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सलाई पराजित गरेको हो । रुपन्देहीको यो लगातार तेस्रो हार हो ।बाबर हायतको अर्धशतक तथा बलरहरु शुभम कामत र रामनरेश गिरीको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गरेको हो ।धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । जवाफमा रुपन्देहीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि हङकङका खेलाडी बाबर हायतले सर्वाधिक ५८ रन बनाए । ३५ बल खेलेका हायतले ४ चौका र ४ छक्का प्रहार गरे ।यस्तै दीलिप नाथले ४३ तथा अनिल कुमार शाहले ३६ रन जोडे । ३७ बल खेलेका दीलिपले ६ चौकार १ छक्का प्रहार गरे भने अनिलले २५ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे ।यस्तै कप्तान पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २२ रन बनाए । बलिङमा रुपन्देहीका विदेशी खेलाडी सुफ्यान मेहमुदले २ विकेट लिए ।रुपन्देहीका लागि प्रदिप ऐरीले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीको ब्याटिङ राम्रो हुन सकेन । लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा प्रदिपले ५० बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाए ।प्रदिपले काठमाडौं गोल्डेन्स विरुद्ध ५७ रन प्रहार गरेका थिए । यस्तै दीपक प्रसादले २२ रन जोडे भने सुशन भारी २१ तथा कप्तान शक्ति गौचन १४ रनमा नटआउट रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया