काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार पशुपतिमा भक्तजनहरुको भीड लागेको छ ।
साउन महिनामा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरु आफ्ना आराध्यदेव महादेवको पूजा अर्चना गर्दै महिना भर नै व्रत बस्ने गर्दछन् । विशेष गरेर साउनको सोमबार भगवान् शिवका मन्दिरहरुमा व्रतालुहरुको भीड लाग्ने गर्दछ । सोमबार महिलाहरु महादेवको पूजा गर्दै मनोकामना पूर्तिका लागि उपवास बस्ने गर्दछन् । साउनको अन्तिम सोमवार पूजाआजा गरी महिलाहरु व्रत समापन गर्दछन् । सोमबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजाआजका लागि पुगेकी अम्बिका (लुईंटेल) आचार्य मन्दिरबाहिर दर्शनार्थीको भीड भएकाले सरकारले व्यवस्थित गरेर पूजा गर्न दिनुपर्ने बताउँछिन् । पहिला सधैँभरी भित्र गएर पूजा गर्न दिएको तर यो वर्ष पूजा गर्न नपाएकोले मन खिन्न भएको उनले बताइन् । मन्दिरभित्र जान नदिँदा बाहिर झनै भीड भएको र व्यवस्थित हुन नसकेको उनले गुनासो गरिन् ।
उनले भनिन्, ‘पहिला सधैँभ भित्र जान पाइन्थ्यो, यो पालि भित्र जान दिइएको छैन, तर बाहिर पनि त्यत्तिकै भीड छ, भित्र जान खुलाएको भए हुन्थ्यो, भक्तजनहरु आउन पाउनुहुन्थ्यो, भित्र जान दिइएको भए स्पेस पनि बढ्थ्यो, मान्छेलाई कोरोनादेखि डरै लागिरा छैनजस्तो लागिराछ, नत्र हामी पनि यसरी आउँदैन थियौँ, कोरोना त वर्षौंसम्म चल्छ, सरकारले व्यवस्थित गरेर लाइनमा सामाजिक दूरी कायम गरेर भित्र जान दिएको भए हुन्थ्यो ।’
त्यसैगरी पशुपतिनाथ दर्शनका लागि पुगेकी साधुदेवी कुँवरले सधैँ आएको बानी बसेकोले मन्दिरमा दर्शन गर्न आएको बताइन् । उनले यस्तो बेला सकेसम्म घरमै बस्न राम्रो भए पनि मन्दिर आउने बानी परेकोले दर्शनका लागि आएको बताइन् ।
उनले भनिन्, ‘सधैँ आएको बानी बसेको भएर आउनुपर्यो, नआए त हुन्थ्यो, यस्तोमा कोरोना सर्ने सम्भावना धेरै हुन्छ, मन्दिर आउने बानी भएकोले बाध्य भएर आएका हौँ ।’
कोरोना भाइरसका कारण सरकारले हिन्दु धर्मावलम्बीहरुका आराध्यदेव पशुपतिनाथको मन्दिरमा व्रतालुलाई प्रवेश गर्न दिइएको छैन । तथापि मन्दिरमा पुजारीहरुबाटक दैनिक पूजा भने भइरहेको छ । व्रतालु महिलाहरुले साउन महिनाभर हातमा मेहेन्दी, हरियो र पहेँले चुरा, पहेँलो र हरियो कपडा लगाएर व्रत बस्छन् । कोरोनाको कारण यसवर्ष आराध्यदेव पशुपतिनाथको मन्दिर बन्द भएपनि मन्दिर परिसरबाहिर भक्तजनहरुको भीड लागेको छ । व्रतालुहरु मन्दिर परिसरबाहिर रहेका शिवलिङ्गहरुमा जल, फूल, अक्षता चढाएर पूजा गरिरहेको देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया