बसले ठक्कर दिँदा दुई जनाको ज्यान गयो

लहान, २३ चैत – पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा आज बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ६०२ नंको बसको टायर पञ्चर भई अनियन्त्रित भएर स.७प ७१५० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?