काठमाडौंको नेपालटारमा नक्कली प्रमाणपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, २८ चैत । काठमाडौंको तारकेश्वर नगरपालिका ११ नेपालटार स्थित एक घरमा नक्कली सर्टीफिकेट (प्रमाणपत्र) साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना भेटिएको छ ।नेपाल प्रहरीले उक्त कारखानाबाट एसएलसी सहित उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) उमाशंकर पंजियारले जानकारी दिएका छन् ।त्यस्तै पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएका नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएका बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् ।यसैगरी पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई पनि नियन्त्रणमा लिइ अनुसन्धान गर्दै जाने क्रममा नेपालटारमा नक्कली प्रमाणपत्र बनाउने कारखाना नै रहेको फेला परेको एसपी पंजियारले बताए ।खुमानसिंहले पोल्याण्ड जान त्रिपुरेश्वर स्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेपछि नेपाल प्रहरीले अनुसन्धान थालेका थिए । प्रहरी अनुसनधनका क्रममा थापालाई अर्जुन अधिकारीले नककली सर्टिफिकेट बनाउन सहयोग गरेका खुलेको थियो ।तिनै अर्जुनमार्फत बल बहादुर राउतले विगत चार वर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेका थिए ।एसपी पंजियारले भने, ‘बल बहादुर राउतले ४ बर्षदेखी आफ्नै कोठामा नक्कली कागजात बनाएर विक्री गर्ने गरेको देखिन्छ ।’‘उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको देखिन्छ ।’ एसपी पंजियारले भने ।प्रहरीले राउतको कोठाबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न कलेजको छाप, होलोग्राह स्टिकर, उच्च माध्यमिक शिक्षा परिषदको छाप र होलोग्राह स्टिकर, विभिन्न सरकारी कार्यालयको छाप, नक्कली लाइसेन्स लगायतका कागजात र कम्प्युटरहरु बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?