भदौ महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई हरितालिका भनेर मनाइन्छ । द्धितिया तिथिको दिन शुद्ध परिकार भोजन गरेर तृतीया तिथिमा यो पर्व मनाइँदै आएको हो ।
तृतीया तिथिमा हरितालिकाको दिन व्रत बसिन्छ । हरितालिका तिथिमा मुख्यरुपमा शिवलाई प्राप्त गर्नका लागि पार्वतीले व्रत बसेको भन्ने मूल धार्मिक कथन हो । हिमालय पुत्री पार्वतीलाई शिवजीसँग विवाह गर्न उनको पिताजीको सहमति थिएन । पार्वतीका पिताजीले उनको विवाह भगवान् विष्णुसँग होस् भन्ने चाहन्थे । पार्वतीलाई विष्णुसँग हुने विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर एकान्तमा लैजान्छन् । एकान्तमा नदी किनारमा गएर छुट्टै व्रत बसेर शिवजी प्राप्त गरेको धार्मिक कथन रहेको छ ।
‘हरित’को अर्थ हरण ‘आलिका’को अर्थ साथी हुन्छ । साथीहरूले हरण गरेर एकान्तमा लगेर शिव आराधना गरेर शिवजी पाउनुका साथै शिवबाट वर पाएको कारण यो पर्वलाई हरितालिका भनिएको हो । पार्वतीको भक्ति भाव देखेर शिवजीले वरदान माग्न भने र पार्वतीले पनि जसले मैले जस्तो भक्ति भाव राखेर तपाईँको व्रत बस्छ उसको पनि मनोकामना पुरा होस् भनेर वर माग्दा शिवजीले तथास्तु भने पछि अन्य नारीहरूले पनि आफ्नो मनोरथ पूर्ण गर्नका लागि विशेष गरेर यो दिन निराहार व्रत बस्ने गर्दै आएका छन् ।
यो पर्वले के सन्देश पनि दिन्छ भने एक नारीलाई आफ्नो पति आफैँ रोज्ने अधिकार दिएको देखिन्छ । यो धार्मिक कथनले परम्परा देखिनै महिलाहरू एक दृष्टिले उनीहरू स्वतन्त्र थिए भन्ने कुरा उठान गरेको छ । अहिले आएको महिला अधिकार, महिला सशक्तीकरणको विषयलाई उहिल्यै यही धर्म संस्कृतिले उठान गरेको पाइन्छ । यसको अर्थ प्रचिनकाल देखि नै महिलाहरू आफ्नो भविष्यको बारेमा जागरूक थिए, सजग थिए भन्ने कुराको व्यवहारिक शिक्षा पनि हामीलाई यो पर्वको महत्त्वबाट थाहा हुन्छ ।
हरितालिकाको व्रतको मुखमा आएर व्रत भनेको महिलालाई मात्र हो भनेर पनि भनिन्छ । हाम्रै धार्मिक मान्यतामा कतिपय व्रत बूढाबूढीलाई भनेर बसिन्छ भने कतिपय बालबालिकाका लागि, कतिपय राजा, कतिपय प्रजा, कतिपय प्रकृतिका लागि, कतिपय कृषि कर्मका लागि, कतिपय पशुका लागि पनि व्रत बस्छौँ । व्रत एउटा शरीर शुद्धिको माध्यम र भक्ति भाव देखाउने पर्व हो । त्यसैले हरितालिका नारी स्वतन्त्रताको पर्व भएको कारण यसलाई नारीको व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेर्न सकिने पर्व पनि हो ।
हरितालिकाको व्रतमा अघिल्लो दिन नै नारीहरूले एक छाक खाना खाएर वा चोखो खानेकुरा खाएर भोलिपल्ट निराहार बस्ने चलन छ । निराहार पूर्ण रूपमा कोही बस्न नसके पनि जल मात्रै पिएर वा फलफूल खाएर पनि व्रत बस्न सक्छन् । यदि रोग विशेष भएको खण्डमा वा शारीरिक असमर्थताको कारणले भर दिन निराहार बस्न सकेनन् भने कोही फलफूल, दुग्धजन्य पदार्थहरू लिन सक्छन् । यो पनि अरू व्रतहरू जस्तै शास्त्रीय विधिको हो ।
अहिले समाज र खानपिनमा आएको परिवर्तनले गर्दा गह्रुङ्गो र गरिष्ठ खानेकुरा खाने चलन बढेको देखिन्छ । पहिला–पहिला भोलि उपवास बस्दा शरीरलाई सजिलो होस् भनेर व्रतको अघिल्लो दिन सात्त्विक भोजन गर्ने गरिन्थ्यो । जसले गर्दा भोलि व्रत बस्दा शरीरमा असहज स्थिति नआओस् भन्ने नै हुन्थ्यो । पवित्र खानेकुरा खाने भन्ने यसको पूर्व नियम हो । तर आजकाल यो नियममा अलि रूपान्तरण भएको छ । मांसाहारी जस्ता खानेकुरा अरू बेला खाने गरे पनि व्रतको अघिल्लो दिन नखानु पर्ने हो । अहिले भोज भतेरमा व्यस्त र मस्त हुने चलन बढेको कारण यस्ता किसिमका खानेकुरामा व्रतालुहरूको आकर्षण बढेको देखिन्छ । यस्तो किसिमको खानेकुरा खानुलाई शास्त्रीय मान्यता भन्दा भिन्न मानिन्छ ।
नारीहरू बिशेषत धार्मिक आस्थाहरूमा पुरुषहरू भन्दा अलि बढी दृढ हुन्छन् । पुरुषहरूले आफ्नो जिम्मेवारी बहन नगरेको कारणले नारीहरूले वहन गर्दै आएको कारणले पनि यो पर्वलाई नारीहरूले अलि कट्टरताका साथमा पालन गर्दै आएको देखिन्छ । यो धार्मिक दृष्टिकोणले राम्रो पक्ष नै हो ।
यसको अर्थ नारीहरूलाई भोकै सुकाउन खोजिएको होइन । यस्ता किसिमका आरोपहरू अहिले सुनिन थालिएको छ । हरितालिकाको सम्बन्धमा विभिन्न कपोकल्पित कल्पनाहरू लिएर यस्ता किसिमका कुराहरू आएको देखिन्छ । यो भनाइहरू सनातन देखि मानिँदै आएको धार्मिक मान्यता माथि कुठाराघात गर्ने प्रयास गर्न खोजिएको हो । यस मार्फत हाम्रो धर्ममा विचलन ल्याउन प्रयोग भएका षडयन्त्रका भाषाहरू नै हुन् ।
जस्तो अन्य समुदायले गर्ने व्रतको सम्बन्धमा यस्ता किसिमका शब्दहरू पटक्कै आउँदैन । तराई मूलका नारीहरूले पनि विशेष गरेर षष्ठी पूजामा छठि माइको पूजा गर्दा कठोर व्रतको पालना गर्नुपर्छ । पश्चिमतिरका महिलाहरूले गौरी पूजा गर्दा गौरा पर्व मनाउँदा कठोर व्रतको पालना गरेका हुन्छन् । मुसलमानहरूले पनि आफ्नो पर्व अनुसार व्रत बसिरहेका हुन्छन् र उपवास बस्ने तरिका कतिपयको हरितालिकाको भन्दा कठोर समेत हुन्छन् । अरू समुदायको सम्बन्ध भएको चाडमा बसिने व्रतको नकारात्मक चर्चा कहिल्यै हुदैंन । तर समान रूपमा सबै हिन्दुहरूले वा हिन्दु महिलाहरूले परिपालन गर्दै आएको यो पर्वका सम्बन्धमा आरोप र आक्षेपको भाषा प्रयोग गर्नु चाहिँ सान्दर्भिक होइन । बरु यसलाई महिला सशक्तीकरणको अभियान हो भनेर अगाडी बढाउनु पर्छ । महिला सशक्तीकरणको अभियान चाल्ने हो भने महिला अधिकारकर्मीहरूले यो दिनलाई आदर्श महिलाहरूलाई सम्मान गर्ने दिन नै हो । शास्त्रीय परम्परा अनुसार यो दिन भगवान् शिवको पूजा आराधना गर्ने, व्रत बस्ने, शिव पार्वतीको भजन गाएर, नाचेर दिन बिताउने नै हो ।
पछिल्लो पटक हरितालिकामा आफ्नो सुख दुखको बयान गर्ने, महिलाहरू बिशेषत आफ्नो माइती घरमा गएर पिताको काखबाट टाढा भएको न्यास्रो मेट्ने, पिता मातासँग घरका केही गुनासा भए पोखेर आफू हलुङ्गो हुने गर्छन् । तत्कालीन सामाजिक परिवेश अनुसार आफ्नो मानसिकतालाई हलुङ्गो बनाउने पर्वको रूपमा पनि यो पर्व मनाउने गरिन्थ्यो । यो पनि एउटा भावुकता र माइतीसँगको सम्बन्धलाई लिएर पारिवारिक वैमनस्य सम्बन्धलाई सौहार्द भावको सम्बन्ध राख्ने गरेको देखिन्छ ।
यो पर्वमा पछिल्लो पटक राजनीतिका समसामयिक विकृतिका कुराहरू पनि आए । यो एउटा समयले ल्याएको परिवर्तन मानिन थालियो । यसले हाम्रो सामाजिक गतिविधि कुन बाटोमा गइरहेको छ भन्ने प्रतिबिम्बित गर्ने, भावना प्रकट गर्ने थलोको रूपमा पनि मान्न थालियो । अहिले अझ पछि आएर एउटा विकृतिले नराम्रो रूप लिएको छ । तीजमा महिलाले गर्ने अभिव्यक्तिमा व्यभिचारलाई प्रोत्साहन दिन थालिएको छ । यसरी उछृंखल अभिव्यक्तिहरू आउन थालेमा यस्ता क्रियाकलापबाट हामी सच्चिनु पर्छ ।
सबै महिलाहरूले यो पर्वको मूल मर्मलाई सम्झेर नै तीज मनाउनु पर्दछ ।
(डा. गुरु प्रसाद सुबेदीसँग गरिएको कुराकानी)
तस्विरहरूः महेश प्रधान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया