सुन तस्करीको जञ्जालमा फस्दै नेपाल

सुनखानी भएपनि प्रशोधन नहुने नेपालमा आयात नै अन्तिम विकल्प हो । नेपाली बजारमा दैनिक ४० केजी सुन आवश्यक भएको सुनचाँदी व्यवसायीहरुले बताउने गरेका छन् । तर, नेपाल राष्ट्र बैंकले एक दिनमा जम्मा २० किलो सुन मात्र आयात गर्ने अनुमति दिन्छ । 

माग र आपूर्तिको यो सन्तुलनलाई सरकारले मिलाउन नचाहँदा हुने त उही हो : तस्करी ! बजार मागकै आधारमा विश्लेषण गर्दा पनि दैनिक २० किलो सुन तस्करीको माध्यमबाट नेपाल भित्रन्छ, एक साताको हिसाब १ सय ५० किलो निस्कन्छ । 

नेपाली बजारको माग पुरा गर्नेगरि मात्र सुन तस्करी हुँदैन । राज्यले नै अवैज्ञानिक कोटा प्रणाली तोकेपछि तस्करका पछि लागेका व्यापारी र नाफाखोरहरुले नेपाललाई सुन तस्करीको भन्सार नै बनाएका छन् । कमीशन र सेटिङ मिलाउन सक्दा नेपालको विमानस्थलबाट हात्ती नै छिराइदिन सक्ने वयान त कुख्यात हत्यारा चाल्र्स शोभराजले दिएकै हुन् । 

देशभर २२ हजार सुनचाँदी व्यवसायी छन् । यी व्यवसायीलाई दैनिक आवश्यक ४० किलोमध्य २० किलो सुन वाणिज्य बैंकहरुले तोकिएको दिन र कोटा अनुसार आयात गर्छन । खपत नहुने सिजनमा किनिएको स्टक, ग्राहकले विक्री गर्ने र साटफेरमार्फत बजार माग धानिरहेको व्यापारीले दाबी गर्छन् । तर कुरोको चुरो, व्यापारीले तस्करीकै सुन खेलाईरहेको प्रमाण बारम्बार सार्वजनिक हुने गरेको छ । 

सुन तस्करीबाट बजारको माग त धानिएको होला, तर यसले व्यापक सामाजिक र आर्थिक अपराधको जन्म पनि गराईरहेको छ । विकिनी किलर चाल्र्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती नै तस्करी गर्न सक्ने दाबीलाई पुष्टि गर्दै गत माघ ७ गते फ्लाई दुबईको जहाजबाट ३३ किलो सुन नेपाल भित्रियो । त्यो पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र पार गर्दै ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार थाई एयरका प्राविधिक सानु वनले तस्करीको यो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए । तर, बनले सम्बन्धित तस्करलाई सुन जिम्मा लगाउनासाथ एकाध समयमै त्यो व्यक्ति बेपत्ता भयो । सुन नै बेपत्ता भएपछि तस्करका योजनाकार गोरे भनेर चिनिने चुडामणी उप्रेती पनि आत्तिने नै भए ।

निरन्तर हत्या, तस्करसँग प्रहरीको अगाध प्रेम 

तस्करले सुन लिएर भागेपछि गोरेको फन्दामा थाई एयरका उनै प्राविधिक एवं सुन तस्कर सानु बन परे । गोरेले उनलाई अपहरण गरि धापासीमा रहेको थ्री मोटर्स ग्यारेजमा पु¥याई चरम यातना दिए । ड्युटीमा फर्किएलगत्तै, २२ माघमा उनी इन्धन ट्यांकरमा ठोक्किएर ‘मारिए’ । सुन तस्करीमै संलग्न रहेको प्रमाणित भएका प्रहरीका उच्चपदस्थ अधिकृतहरुको दबाबका कारण यो दुर्घटना मृत्यु हो या हत्या भन्ने खुल्न सकेन । किनकी, प्रहरी संगठनले यो विषयमा गम्भीर अनुसन्धान नै गरेन ।

बनको मृत्युपछि गोरेले आफुसँग विवाद गरि छुट्टिएका आफ्ना पूर्वलेखा अधिकृत एवं सनम शाक्यमाथि शंका गरे । शाक्य गोरेसँग ३ महिनाअघि मात्र अलग्गिएका थिए । गोलेले शाक्यसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई अपहरण गरि काठमाडौंबाट मोरङ पु¥याए ।

यो बीचमा गोरे र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जेलबीच मोलमोलाई भईरहेको थियो । गोरेले करेन्टको झड्कामार्फत चरम यातना दिएपछि सनम पनि मारिए । सई बालकृष्ण सञ्जेलले चाहिँ आफुले सनमको लाश ठेगान लगाउने, हराएको सुन खोजिदिने र त्यसबापत आफुले रकम पाउनुपर्ने माग राखे । गोरे र सञ्जेलबीच सहमति पनि भयो । 

प्रहरी संगठनकै ‘संलग्नता’

नेपाल प्रहरीका आईजीपी संगठनका प्रमुख हुन् । तस्करीको धन्दामा प्रहरी नै संलग्न भएपछि ३३ किलो सुन तस्करी प्रकरणमा मात्रै ४ जनाको ज्यान गईसकेको छ । यही विवादमा नेपालका प्रहरीका पूर्व आईजीपी प्रकाश अर्याल समेत तानिएका छन् ।

यही सुनकाण्डमा प्रहरीका बहालवाला र अवकाश प्राप्त उच्च अधिकारीको नाम निरन्तर जोडिने क्रम जारी छ । बहालवाला एसएसपीहरु दिवेश लोहनी, श्यामकृष्ण खत्री, डीएसपीहरु प्रजित केसी, सञ्जयबहादुर राउत र पूर्व आईजीपी प्रकाश अर्याल अनुसन्धानको दायरामा तानिएका हुन् ।

 स्रोतका अनुसार सनम शाक्यको लाश ठेगान लगाउने र सुन खोजिदिने धन्दाको जिम्मा लिएका सई बालकृष्ण सञ्जेलचाहिँ हाल प्रहरी नियन्त्रणमा परिसकेका छन् । गृह मन्त्रालयबाट गठित विशेष अनुसन्धान टोलीको निर्देशनमा सञ्जेललाई नक्सालस्थित प्रहरी मुख्यालयसँगै रहेको १ नम्बर गठनमा थुनिएको छ ।

अपराधी तस्कर समात्न ईन्टरपोलसँग गुहार

३३ किलो सुन तस्करीमा ४ जनाको हत्या गरेका र सिंगो प्रहरी संठगनलाई नै फसाएका चुडामणी उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोल गुहार्दै छ । तस्करीको एक अपराधी पक्रन संसारभरका १ सय ९२ राष्ट्रका प्रहरी संगठन आबद्ध रहेको इन्टरपोलसम्म पुग्नुपर्ने स्थिती सुन तस्करीकै कारण आएको हो ।

तस्करी, हत्या र अपराधका पछाडिको कारण चाहिँ सरकारले बजार मागभन्दा पनि कम हुनेगरि सुन आयातमा तोकेको कोटा नै हो । जब राज्यका नीतिहरु आवश्यकता र अनुसन्धानपरक हुँदैनन्, तब मुलुकलाई असफलता र आर्थिक–सामाजिक अपराधले घेरिरहन्छन् । विमानस्थल र भन्सार नाकाहरु तस्करका लागि स्वर्ग बनिरहन्छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?