यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मीठा खानेकुराहरू दिएर काग तिहार मनाइँदै छ । आजको दिन कागलाई पूजा गरेर खाना खान नदिई आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रूपमा मान्ने गरिन्छ भने हिन्दु धर्मअनुसार कागलाई यमदूतका रूपमा मानिन्छ ।
हिन्दु धर्ममा कागलाई यमपञ्चकको पहिलो दिन पूजा गरे पनि कागका धेरै अनौठा व्यवहार र गुणहरू रहेको विज्ञानको क्षेत्रले गरेका विभिन्न अनुसन्धानहरूबाट पत्ता लागेको छ ।
काग तिहारको दिन कागका गुणहरू के कस्तो छ भन्ने विषयमा विज्ञानको क्षेत्रले फेला पारेका तथ्याङ्कहरू ।
– कोर्भस जातीमा पर्ने कागका विभिन्न प्रजातिहरू अन्टार्टिका र दक्षिण अमेरिकाबाहेक सबै महादेशमा पाइन्छ । यो क्षेत्रमा केही फरक प्रजातिका कागहरू पाइन्छन् तर वैज्ञानिकले विश्वमा ४० प्रजातिका कागहरू रहेको पत्ता लगाएका छन् । कागलाई विभिन्न प्रजाति अनुसार फरक फरक नामले बोलाउने पनि गरिन्छ ।
– अरू जनावरहरू जस्तै कागलाई पनि बुद्धिमानी पक्षीको रूपमा मानिन्छ । कागलाई केही सामाजिक पंक्षी पनि मानिन्छ । कागहरू आफ्नै जोडी र सानो पारिवारसंग लामो समय बिताउने गर्छ । समूहमा बस्ने कागका कुनै जोडीले अण्डा पार्ने भएमा अरू कागले उसका लागि गुँड बनाउन र अण्डाको सुरक्षामा समेत खटिने गर्छन् ।
– अरू पक्षीको तुलनामा काग प्रजातिमा कुनै सदस्यको मृत्यु भएमा कागहरू भेला भएर कराएर शोक सभा गर्ने गर्छन् । यसरी शोक सभा गर्दा कागले मरेको कागलाई छुने गर्दैनन् । यो विषयमा गरिएको एक अध्ययनले के देखाएको छ भने कागहरू सामूहिक रूपमा भेला भएर अब कसरी बचेका कागहरू बाँच्ने भन्ने विषयमा रणनीति बनाएको भन्ने रहेको छ । यो भेलाले काग मरेको स्थानको पहिचान र त्यहाँका चुनौतीहरूको विश्लेषण समेत गर्छ भन्ने रहेको छ ।
– वैज्ञानिकहरूले गरेको अनुसन्धान अनुसार शरीरको तौल अनुसार कागको मस्तिष्क ठुलो हुने गरेको छ । शरीरको तौल अनुसार कागको मस्तिष्कको आकार २.७ प्रतिशत हुन्छ । जबकि मानिससँग तुलना गर्ने हो भने मानिसको शरीर अनुसार उसको मस्तिष्कको आकार १.९ प्रतिशत मात्र हुने गर्छ । त्यसैले कागलाई अरू पक्षीको तुलनामा सबैभन्दा चलाख र बुद्धिमानी मानिने गर्छ ।
– कागले काँ… काँ… गरेर कराए पनि यसले विभिन्न किसिमका सङ्केतहरू अरू कागलाई पठाइरहेको हुन्छ । जस्तो कागलाई आफू बसेको क्षेत्रमा कुनै खतरा भएमा, आफ्ना आफन्तहरूलाई बोलाउनु परेमा र कुनै ठाउँमा जाँदा दिशा निर्देश गर्नु परेमा यही आवाजबाटै गर्ने गर्छन् ।
– कागलाई कहिल्यै पनि शत्रुको व्यवहार गर्नु हुदैंन । कागले मानिसको अनुहार चिन्ने गर्छ । यदि कसैले कागलाई खतरा पुर्याएको छ भने उसले मौका हेरेर आक्रमण समेत गर्ने गर्छ ।
– कागले आफूलाई खतरा निम्त्याउन सक्ने अन्य पक्षीहरु चील, गिद्ध, लाटोकोसेरोलाई आक्रमण गर्नुपर्याे भने समूहमा मिलेर गर्ने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया