तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो : को–को छन् कांग्रेसबाट मेयरका आकांक्षी ?

उत्तरमा नुवाकोटसँग सीमाना जोडिएको काठमाडौंको तारकेश्वर नगरपालिकामा यतिबेला स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । पूर्वमा टोखा नगरपालिका, पश्चिममा नागार्जुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकासँग जोडिएको तारकेश्वर राजनीतिको हिसाबले महत्वपूर्ण मानिन्छ ।

त्यसो त काठमाडौं महानगरसँग सीमा जोडिएको कारणले गर्दा पनि केन्द्रीय स्तरका नेताहरूको पनि चासो तारकेश्वरको राजनीतिमा पर्ने गर्दछ । सरकारले आगामी २०७९ साल वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । त्यससँगै तारकेश्वर कांग्रेस निर्वाचनको तयारीमा लागेको छ ।

पार्टीले आगामी निर्वाचनका लागि एक महिने जागरण अभियान ‘घर–घर जाऔँँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने भएको छ । त्यसकै तयारीस्वरुप निर्वाचनमा मेयरका आकांक्षीहरू समेत देखिन थालेका छन् । तारकेश्वर कांग्रेसबाट आगामी निर्वाचनमा पूर्वआकांक्षीदेखि पुराना राजनीतिज्ञसहित वडाअध्यक्ष समेत मेयरको आकांक्षीको रुपमा अगाडि देखिएका छन् ।

यी हुन् तारकेश्वरमा कांग्रेसबाट मेयरको आकांक्षीहरू

१. श्रीराम थापा

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरमा नेपाली कांग्रेसको तर्फबाट मेयरको स्वाभाविक उम्मेदवार हुन् श्रीराम थापा । २०७४ को स्थानीय तहको निर्वाचनमा पराजित भएका कारण थापा २०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि स्वाभाविक उम्मेदवार मानिन्छन् ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेअनुसार उनी निर्वाचनको तयारीस्वरुप भेटघाटलाई तीव्रता दिएका छन् । तारकेश्वर नगरकमिटीका पूर्वसभापति समेत हुन् । स्थानीयस्तरमा लोकप्रिय मानिने नेता थापा केन्द्रीय राजनीतिमा प्रकाशमान सिंहसँग नजिक मानिन्छन् । त्यस्तै नेपाली कांग्रेस काठमाडौंका पार्टी सभापति सबुजकृष्ण बानियाँसँग उनको निकट सम्बन्ध रहेको छ ।

२. कृष्णहरि महर्जन

३० वैशाखको स्थानीय तहको निर्वाचनका लागि तारेश्वर नगरपालिकाबाट मेयरमा अगाडि आएको अर्को नाम हो कृष्णहरि महर्जन । हाल तारकेश्वर नगरपालिका कांग्रेसका सभापति रहेका नेता महर्जन स्थानीयस्तरमा राम्रो प्रभाव रहेको उनी निकटहरू बताउँछन् ।

पूर्वक्षेत्रीय कोषाध्यक्ष समेत रहेका नेता महर्जन पार्टीको केन्द्रीय राजनीतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता भिमसनेदास प्रधानसँग नजिक छन् । उनले आगामी निर्वाचनका लागि तयारी थालेका छन् ।

३. इन्द्रमान महर्जन

बागमती प्रदेशको सदस्य समेत रहेका तारकेश्वर नेपाली कांग्रेसका नेता इन्द्रमान महर्जन यस पटकको स्थानीय तहको निर्वाचनमा मेयरका रुपमा अघि आएको नाम हो । नेता महर्जन काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि बनेका नेता महर्जन नेपाल सांस्कृतिक संघका पूर्वसहमहामन्त्री समेत हुन् । त्यस्तै काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधित्व गर्ने भिमसेनदास प्रधान रक्षामन्त्री हुँदा उनको स्वकीय सचिव भएर समेत काम गरेका थिए । सिटौला समूहमा देखिएका नेता महर्जन पार्टीको १४औँ महाधिवेशनमा भने प्रकाशमान सिंह समूहमा देखिएका थिए । उनले आगामी निर्वाचनका लागि तयारीस्वरुप भेटघाटलाई अगाडि बढाएका छन् ।

४. मनोहरी तिवारी

आगामी स्थानीय तहको निर्वाचनमा मेयरका लागि आएको अर्को नाम हो मनोहरी तिवारी । हाल तारकेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष समेत रहेका तिवारी काठमाडौं क्षेत्र नं ७ का पूर्वक्षेत्रीय सचिव समेत हुन् ।

पार्टीको १४औँ महाधिवेशनमा क्षेत्र नं ७ बाट क्षेत्रीय सभापतिको प्रत्यासी रहेका उनी मुकुन्द रिजालसँग पराजित भएका थिए । बाहिर खुलेर नदेखिए पनि उनी केन्द्रमा देउवानिकटका नेताहरूसँग नजिक छन् ।

तर पार्टीको १४औँ महाधिवेशनभन्दा अघि भने तिवारी प्रकाशमान सिंहसँग नजिक रहेका थिए । नेता तिवारीले आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रुपमा आफूलाई अगाडि बढाएका छन् ।

५. कृष्णमान श्रेष्ठ

तारकेश्वरमा आगामी स्थानीय तहको निर्वाचनमा मेयरका लागि आकांक्षीको रुपमा आएको अर्को नाम हो कृष्णमान श्रेष्ठ । नेता श्रेष्ठ पार्टीको १४औँ महाधिवेशनमा काठमाडौं क्षेत्र नं ६ बाट क्षेत्रीय सभापतिको प्रत्यासीका रुपमा रहेका थिए । उनी नेपाल चेम्बर अफ कमर्ससँग समेत आबद्ध छन् ।

६. इच्छाराम कार्की

नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारनिकट नेता हुन् इच्छाराम कार्की । काठमाडौं क्षेत्र नं ६ बाट महाधिवेशन प्रतिनिधि रहेका नेता कार्की आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकाबाट मेयरका लागि अगाडि आएको नाम हो ।

गच्छादारले पार्टी फुटाउँदा लोकतान्त्रिक फोरमको सभापति समेत बनेका नेता कार्की २०५४ सालमा वडाध्यक्षको उम्मेदवार हुँदै राजनीतिमा सक्रिय रहेका हुन् । समाजसेवामा आबद्ध उनी आगामी निर्वाचनका लागि मेयरको तयारीस्वरुप छलफललाई तीव्रता दिएका छन् ।

७. नारायणप्रसाद तिमल्सिना

आगामी स्थानीय तहको निर्वाचनमा तारकेश्वरबाट मेयरको रुपका अघि आएको अर्को नाम हो नारायणप्रसाद तिमल्सिना । काठमाडौंको नागार्जुन नगरपालिकाका कर्मचारीसमेत रहेका तिमल्सिना स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।

स्थानीयस्तरमा चर्चित बनेका नेता तिमल्सिना मेयरको आकांक्षीका रुपमा अगाडि आएका छन् । भने उनले छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

८. राजुप्रसाद तिमल्सिना

तारकेश्वरमा आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीका रुपमा अगाडि आएको अर्को नाम हो राजुप्रसाद तिमल्सिना । तारकेश्वर नगरपालिकामा लामो समय कर्मचारीको रुपमा रहेका नेता तिमल्सिना स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् । नेता तिमल्सिनाले स्थानीय स्तरमा छलफल र भेटघाटलाई तीव्रता दिएका छन् ।

९.धर्मराज अर्याल

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौंको तारकेश्वर नगरपालिकाबाट मेयरको आकांक्षीको रुपमा अगाडि आएको अर्को नाम हो धर्मराज अर्याल ।

रकारको घोषणाअनुसार स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस नेता अर्यालले आफ्नो आकांक्षालाई तीव्र बनाएका छन् । तारकेश्वरमा पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गरेका अर्याल काठमाडौं क्षेत्र नं ७ को पूर्वक्षेत्रीय सभापति हुन् ।

१०. वासुदेव लामा

तारकेश्वरको स्थानीय राजनीतिमा लोकप्रिय नाम हो वासुदेव लामा । लामा आगामी स्थानीय तहको निर्वाचनमा आफूलाई मेयरको आकांक्षीको रुपमा अगाडि आएका छन् ।

लामा हाल काठमाडौं क्षेत्र नं ७ (प्रदेश ख) क्षेत्रीय सभापति हुन् । अन्य आकांक्षीहरूको जस्तै नेता लामाको नाम पनि यस पटकको स्थानीय तहको निर्वाचनमा मेयरका लागि आकांक्षीको रुपमा अगाडि आएको छ ।

माथि उल्लिखितसहित तारकेश्वरबाट मेयर र उपमेयरमा यी बाहेक अन्यकाे नाम समेत चर्चामा रहेको छ । नेपाली कांग्रेस तारकेश्वर कार्यसमितिको वर्तमान सचिव सिर्जना बुर्लाकोटी अर्यालको नाम उपमेयरको आकांक्षीको रुपमा अगाडि आएको छ । काठमाडौं क्षेत्र नं ७ को पूर्वक्षेत्रीय कोषाध्यक्ष रहेकी अर्याललाई उपमेयरको मुख्य दावेदारको रुपमा हेरिएको छ ।

यो पनि

काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी

तारकेश्वरमा माओवादी केन्द्रबाट को–को छन् मेयरका आकांक्षी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?