विवर्तनमा पाठकीय सर्वोच्चता

साहित्यमा चार केन्द्रबारेको बहस निकै पेचिलो बन्ने गरेको छ । विषयवस्तु ( विश्वप्रकृति), लेखक/स्रस्टा, पाठक र भाषामध्ये कुनचाहिँ महत्वपूर्ण हुन्छ भन्नेमा साहित्यसिद्धान्तहरू विभाजित भएका देखिन्छन् ।

निश्चय पनि कुनै पनि कृतिको मूल्याङ्कन यी चारै कोणबाट हेर्न सकिन्छ र यिनलाई पन्छाएर कुनै कृतिको चिरफार गर्न सकिँदैन । यसमध्ये पनि निर्णायकचाहिँ पाठक नै हो । लेखकले जुन मनोदशामा कृतिको रचना गरेको छ त्यही मनोदशालाई पाठकले समात्न पनि सक्छ र आफैँ नयाँ अर्थको खोजी गर्न पनि सक्छ ।

पाठकको चेतना र उसको ज्ञानको परिधिले कुनै पाठलाई अथ्र्याउन मदत गर्दछ । त्यसैले पाठको अर्थमा पनि विविधता रहन्छ नै । यसै मेसोमा विवर्तन उपन्यासबारे एउटा पाठकीय धारणाको सन्दर्भ यहाँ जाडिएको छ ।

उपन्यासकार टेकनाथ दहालद्वारा लिखित विवर्तन उपन्यास महाभारतको कथामा आधारित छ । महाभारत यति ठूलो आख्यान भण्डार हो जसमा आधारित भएर हजारौँ नयाँ कृतिहरू जन्मिएका छन् र अझ जन्मिनेछन् । विवर्तन पनि त्यसैको निरन्तरता हो ।

उपन्यासकार टेकनाथ दहालकै शब्दमा भन्ने हो भने विवर्तनको अर्थ हुन्छ भिन्न रूपमा परिवर्तन हुनु । विवर्तन पूर्वीय वेदान्त दर्शन र भर्तृहरिको शब्द दर्शनमा पनि त्यतिकै प्रमुखताका साथ व्याख्या भएको शब्द हो र भौतिक विज्ञानमा पनि प्रकाशको अध्ययन गर्न यसको प्रयोग भएको देखिन्छ । यति गहन दार्शनिक र विज्ञानको क्षेत्रको शब्दलाई उपन्यासमा प्रयोग गरेर लेखकले हरेक पाठकलाई उपन्यासको आफ्नै अर्थ निर्धारण गर्न छुट दिएका छन् ।

उपन्यासमा एकातिर पृथाको क्रियाकलापलाई नारी चरित्रसँग जोडेर हेर्न सकिन्छ भने अर्कोतिर बीसाैँ शताब्दीमा उठेको नारीवादी सोचसँग जोडेर हेर्न पनि सकिन्छ । महाभारतमै सन्तान जन्माउन प्रदान गरिएको नारी स्वतन्त्रता र बीसौँ शताब्दीमा नारी आन्दोलनले उठाएको कोखमाथिको अधिकारका बीच समानता राख्दछ । तब आजको नारी अधिकारको एउटा पाटो महाभारतकालकै विवर्तन हो भन्ने अर्थ निकाल्न पाठक स्वतन्त्र छ ।

महाभारतमा अचिन्हित लिङ्गीको रूपमा शिखण्डीको नाम आउँछ । पाण्डु शिखण्डीभन्दा पछाडिका हुन् । विवर्तनमै दिइएको कथाको आलम्बनमा पाण्डु सन्तान जन्माउन असमर्थ छन् भन्ने कुरा उनले नै उल्लेख गरेको श्लोकमा राखिएको छ । समग्र उपन्यासमा पाण्डुको पुरुष रूपलाई नदेखाएर अलिकति पाठकका निम्ति सोच्ने ‘स्पेस’ राखिएको छ ।

यसले सम्भवतः यौनिक अल्पसङ्ख्यकका मुद्दा र सन्दर्भलाई सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । यस सम्बन्धमा लेखकको धारणा छ, ‘अब साहित्य लेख्दा यौनिक अल्पसङ्ख्यकहरूको अस्तित्व नै मेटाउने गरी लेख्न गाह्रो छ । किनभने उनीहरू पनि पहिचानका लागि सङ्घर्ष गरिहरेका छन् ।’

उनको यो भनाइबाट पनि पाण्डु तयार पार्दा यौनिक अल्पसङ्ख्यकलाई बेवास्ता गरिएको छैन भन्ने देखिन्छ र उनले उपन्यासको अन्त्यतिर एउटा संस्कृतको श्लोक वानप्रस्थी ऋषिबाट बोल्न लगाएको सन्दर्भबाट पनि यस कुरालाई बोध गर्न सकिन्छ ।

पाण्डु पैतृक सम्पत्तिबाट विमुख छ । हस्तिनापुर दरबारमा भएको गोप्य बैठकमा यसै विषयले प्राथमिकता पाएको थियो भन्ने बोध पृथाले गरेकी छ र यो कुरा गन्धमादनमा बस्दा धर्मसँग पृथाले भनेकी छ । पैतृृक सम्पत्तिका लागि पुस्तौनी विवाद यौनिक अल्पसङ्ख्यकका लागि त्यति प्राथमिकतामा पर्दैन ।

जनकत्व र मातृत्व नभएकाको लागि पैतृक सम्पत्तिले खास महत्त्व राख्दैन पनि । जति छ उसको जीवन छ । जीवनभन्दा पर कुनै सामाजिक अधिकारको बहस बेकार छ । तब विवर्तनको अर्थ मनुकालीन र कौटिल्यकालीन यौनिक अल्पसङ्ख्यकहरूको सामाजिक अधिकारको नवीन संस्करण हुन्छ ।

महाभारत पढ्ने सबैलाई थाहा छ– पाण्डव पाण्डुका सन्तान थिएनन् । युधिष्ठिर धर्मको छोरो थियो भने वायुको छोरो भीम अनि इन्द्रको छोरो अर्जुन । नकुल र सहदेवचाहिँ अश्विनी कुमारका छोरा थिए । तापनि तिनलाई पाण्डव भनेर चिनिन्छ । उपन्यासमा वानप्रस्थ जाँदा पृथा, माद्री र पाण्डु गएका छन् ।

नागशतसम्म रथ लिएर हस्तिनापुरको सारथि पनि गएको छ । दुई श्रीमतीका साथ पाण्डु वानप्रस्थ गएको थियो आउँदा पाण्डु आएन पाण्डव आए । तब विवर्तनको अर्थ हुन्छ–पाण्डु नै पाण्डव रूपमा विवर्तन भए ।

महाभारतको कथामा सबैभन्दा त्यागी र हस्तिनापुरको भविष्यलाई लिएर बढी चिन्तित हुने पात्र भीष्मपितामह हुन् । विवर्तनमा पनि देवव्रत (भीष्मपितामह) निकै देशभक्त पात्रका रूपमा देखिएका छन् । हस्तिनापुरको सैन्य कूटनीतिप्रति देवव्रतलाई पूरै भरोसा छ ।

हस्तिनापुर लेख्दै गर्दा उपन्यासकारलाई देशकै राजनीतिक उतारचढाव याद भएन भन्न सकिन्न । तब देवव्रत आजका नेपाली जनता मान्ने हो भने विवर्तनको अर्थ अझै प्रखर बनेको देखिन्छ ।

सम्भवतः एउटा इतिहास बोकेको संस्थालाई संरक्षण गर्नुपर्छ भन्ने लेखकीय आशय पाण्डवहरूको हस्तिनापुर प्रत्यागमनसँग जोडिन्छ भने विवर्तनको राजनीतिक अर्थ पनि हुन सक्दछ ।

यस सम्बन्धमा लेखकको धारणा छ, ‘जसरी राजनीतिमा सबै विकल्प खुला हुन्छन् त्यसैगरी लेखनमा पनि अर्थका सबै विकल्पहरू खुला गरिनुपर्छ । सबै काल र परिवेशमा एउटै अर्थ कामयावी हुँदैनन् । तब अर्को अर्थ सक्रिय हुन्छ । कुनै दिन विवर्तनले राजनीतिक अर्थ पनि राख्न सक्छ ।’

व्यक्तिभित्र विचारको द्वन्द्व सनातन परम्परा हो । प्राचीन मानिसहरू निद्र्वन्द्व थिए भन्न सकिन्न र आजका मानिस त यो समस्याबाट अझ ग्रस्त देखिन्छन् । हुन्छ कि हुँदैन, छ कि छैनजस्ता द्विविधामै मानिसहरू द्वन्द्वरत छन् । घर छोडेर उत्तरापन्थ लागेको धर्म कहिले त्यागको सोच बनाउँछ कहिले भोगतिर मन डुलाउँछ । ध्यान गरेर ब्रह्मत्व प्राप्त गर्ने चाहाना पनि छ र भोगको लालसा पनि त्यतिकै छ ।

पृथासँगको अनुरागले उसलाई भोगी बनाउँछ । उपन्यासको अन्त्यमा ऊ पुनः वानप्रस्थी बनेको छ । यसरी द्विविधामा बाँच्नु र अन्ततः वानप्रस्थी बन्नुमा पनि विवर्तनको अर्थ जोड्न सकिन्छ ।

मानिसको स्वभाव मूलतः भोगवादी होइन । न जीवनको थालनीमा भोगको लालसा हुन्छ न जीवनको अन्त्यमा भोगको लालसा बाँकी रहन्छ । यौवनको भोग त अरू क्षणिक हुन्छ । जीवनभरि सम्पत्ति भनेर हिँडेको मानिस अन्त्य अवस्थामा पुगेपछि भन्छ–मलाई केही चाहिँदैन । भोगको यो तृप्ती पृथाभित्र पनि छ । पृथा धर्मसँगको सहवासमा जति लालयित छ त्यति वायु र इन्द्रसँगको सहवासमा लालयित देखिँदैन ।

पाण्डुको निधनपछि गन्धमादन फर्किएकी पृथामा त वासनाको लेस पनि देखिँदैन । ऊ यति दृढ छे कि धर्म, वायु र इन्द्र आउँदा पनि उसमा खास कुनै रुचि छैन । पुरुषका तुलनामा महिलाको यौनशक्ति छिटो विकास हुन्छ र छिटै कमजोर पनि हुन्छ भन्ने मान्यता छ ।

हुन पनि एउटा निश्चित उमेर कटेपछि महिलाहरूलाई सहवासप्रति त्यति रुचि हुँदैन भन्ने कुरा अनुभवीहरू बताउँछन् । पृथामा पनि त्यो विरक्ति देखिन्छ । तब विवर्तनको अर्थ पृथाको यौन जीवनसँग पनि गाँसिन पुग्दछ ।

विवर्तनको कथानक संरचना प्रश्नवाचक चिह्नजस्तो छ । खण्ड एकदेखि खण्ड नौसम्मको कथानक ढाँचा वृत्ताकारीय छ भने त्यसपछि रैखिक ढाँचाको छ । यो भनेको लगभग प्रश्नवाचक चिह्नको ढाँचा हो । दृष्टिबिन्दुको ढाँचा पनि एकैनासको छैन ।

पहिलो वक्ता हरिद्वारमा भेटिएका जोगी हुन् भने दोस्रो वक्ता हंसकूटमा धर्मको काखमा पल्टिएर आफ्नो जीवन भनिरहेकी पृथा हो । समग्रमा यिनीहरू नै उपन्यासका घटनाका मूल भोक्ता हुन् । हरिद्वारमा भेटिएका जोगीहरूको वर्णन हेर्दा हिन्दु धार्मिक ग्रन्थमा वर्णन गरिएको अष्टचिरञ्जीवीको झल्को आउँछ ।

लामो समयसम्म बाँचेको मानिसले धेरै समाज जानेको हुन्छ । समाज जान्नु भनेको संस्कृति, इतिहास र भाषा जान्नु पनि हो । आज सत्यमोहन जोशीले जति अनुभवजन्य ज्ञान आर्जन गरेका छन् त्यति ज्ञान आर्जन गर्न भर्खर विद्यालय गएको एउटा विद्यार्थीले कति वर्ष पढ्नु पर्ला ! कल्पना गर्नै सकिँदैन ।

अष्टचिरञ्जीवी भनेपछि युगौँयुग बाँचिरहने मानिस भन्ने बोध हुन्छ । तब उसको ज्ञानको कुनै सीमा नै हुँदैन । त्यस्तै मानिसहरू जम्मा भएर विमर्श गरिरहेको स्थानमा लेखक पुगेको सन्दर्भ विवर्तनमा छ ।

त्यसबारे उनको प्रतिक्रिया छ, ‘हो म २०६४ सालताका विवर्तनको कथावस्तु खोज्न हरिद्वार पुगेँ । मैले त्यहाँ केही दिन तपस्वी जोगीहरूसँग बिताएँ । त्यो बसाइबाट म आध्यात्मिक जीवनप्रति आस्थावान् भएँ । मलाई भोगको सीमाबारे त्यहीँबाट बोध भयो । प्रारूप मैले हरिद्वारमा गएर नै तयार पारेको हुँ ।’

कवि रूपक अलङ्कारले भनेजस्तो विवर्तन अर्कै महाभारतको परिकल्पना हो भने डा. गणेशप्रसाद घिमिरेले भनेजस्तो विवर्तन महाभारतमै अल्झिएको पनि छ । विवर्तनको कथानक महाभारतको कथाभन्दा टाढा पनि छैन र हुबहु पनि छैन । एक प्रकारले भन्ने हो भने समानान्तर रूपमा महाभारतकै कथासँग विवर्तनको कथा दौडिएको छ ।

विवर्तन उपन्यासलाई कसैले नारीवादी देख्ला कसैले नारीविरोधी तर एकाध वर्णविन्यास त्रुटिबाहेक उपन्यास पठनीय छ । सबै किसिमका पाठकका लागि यो रोचक र अध्ययनीय पनि छ ।

(उपन्यासकार दहालसँगको कफिगफमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?