काठमाडौं महानगरमा एमालेबाट मेयरको आकांक्षी : वर्तमान मेयरदेखि प्रदेश र संघीय सांसदसम्म

देशको केन्द्रीय राजधानीमा रहेका कारण सधैँ चासो र चर्चाको विषयमा रहन्छ काठमाडौं महानगरपालिका । केन्द्रमा रहेको र केन्द्रीय राजनीतिले समेत प्रत्यक्ष प्रभाव पार्ने भएकोले यहाँको हरेक क्रियाकलापको चर्चा हुनु स्वाभाविक हाे । सोही कारण पनि महानगरको नेतृत्व गर्न संघीय सांसद र मन्त्री भइसकेकाहरूको समेत इच्छा रहन्छ ।

देश संघीय संरचनामा गए पनि धेरैजसो क्रियाकलापहरू अझै काठमाडौं केन्द्रित नै हुनेगरेको छ । विभिन्न महत्वपूर्ण सरकारी कार्यालयहरू, स्कुल तथा कलेज एवं अस्पताल र अन्य प्रशासनीक भवनहरू काठमाडौं महानगरअन्तर्गत पर्दछन् भने देशभरिका ७५३ स्थानीय तहको विकास निर्माणका लागि मार्गदर्शकको रूपमा काठमाडौं महानगरलाई हेरिएको भन्दा अतियुक्ति हुन्न ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै विभिन्न राजनीतिक दलहरू आ–आफ्नो दलबाट उम्मेदवारहरू खडा गर्न छलफलमा जुटेका छन् । बाहिर नआए पनि भित्रभित्र सबै राजनीतिक दलहरूले तयारी थालेका छन् ।

यसैबीच काठमाडौं महानगरमा कसलाई ल्याउने भन्ने एमालेभित्र चर्चा चल्न थालेको छ । वर्तमान मेयरदेखि संघीय सांसदसहित पूर्वमन्त्री भइसकेका र प्रदेश सांसददेखि वडाअध्यक्षका प्रत्यासीहरू समेत मेयरको लबिङमा लागेको देखिन्छ ।

काठमाडौं महानगरमा आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री समेत रहेका संघीय सांसद रामवीर मानन्धर, बागमती प्रदेशका सांसदद्वय केशव स्थापित र राजेश शाक्य, एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष निर्मल देउलासहित यसअघिका काठमाडौं वडा नं १६ का वडाध्यक्षका प्रत्यासी विश्वराम सापकोटा समेतको नाम मेयरको आकांक्षीका रूपमा अगाडि आएको छ ।

यी हुन् चर्चामा रहेका नामहरू 

१. विद्यासुन्दर शाक्य

काठमाडौं महानगरका वर्तमान मेयर हुन्, विद्यासुन्दर शाक्य । २०७४ को निर्वाचनमा निर्वाचित शाक्य आगामी स्थानीय निर्वाचनमा समेत मेयरका स्वाभाविक उम्मेदवार रहेको मानिन्छन् । त्यसो त माघ २७ गते एउटा सार्वजनिक कार्यक्रममा उनले पार्टीले जिम्मेवारी दिएमा पुनः मेयर उठ्ने तयारीमा रहेको बताइसकेका छन् ।

त्यससँगै आगामी निर्वाचनमा मेयरका रूपमा अघि बढ्ने सोचमा छन्, शाक्य । हाल नेकपा एमालेका केन्द्रीय सदस्य रहेका शाक्य एमाले काठमाडौं जिल्लाको सहइन्चार्ज समेत हुन् ।

जिल्लामा रहेर पार्टीको विभिन्न जिम्मेवारीमा रहेका शाक्य काठमाडौंको जिल्लासचिव रहेका थिए भने २०७४ देखि १०औँ राष्ट्रिय महाधिवेशनसम्म प्रदेश कमिटी सदस्य रहेका थिए । जनप्रतिनिधिको हिसाबले मेयर बन्नुभन्दा अघि शाक्य २०४९ र २०५४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको वडा नं २१ का निर्वाचित वडाध्यक्ष थिए ।

यसअघिको निर्वाचनमा जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम चर्चामा भए पनि अध्यक्षको विश्वासपात्रका रूपमा रहेका कारण शाक्यलाई पार्टीले टिकट दिएको थियो ।

ठूलो मतान्तरसहित निर्वाचित भए पनि मेयर शाक्यको कार्यकाल भने सन्तोषजनक छैन । धेरै बोल्न नचाहने र मिडियामा आउन नचाहने मेयर शाक्य बेला–बेला विवादमा भने आइरहन्छन् ।

काठमाडौंको फोहोर व्यवस्थापन गर्नदेखि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा समेत उनको सक्रियता नदेखिएको भन्दै उनको तीव्र आलोचना हुनेगरेको छ ।

२. रामवीर मानन्धर

पूर्वराज्यमन्त्री समेत रहेका सांसद रामवीर मानन्धर काठमाडौं महानगरका लगि परिचित नाम हो । उनी २०७० र २०७४ मा काठमाडौं क्षेत्र नं ७ बाट एमालेबाट निर्वाचित सांसद हुन् ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेता मानन्धर वडा तहदेखि उठेका नेता हुन् । दुई पटकसम्म काठमाडौं महानगर १६ बाट २ पटक वडाध्यक्ष समेत बनेका मानन्धर योजनासहित आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरका उम्मेदवारको रूपमा अगाडि आउने तयारीमा छन् ।

यसअघि २०७४ मा मेयरको प्रमुख दाबेदार रहे पनि अन्ततः उनकै आग्रहमा विद्यासुन्दर शाक्यलाई मेयरको रूपमा अघि बढाइएको थियो । काठमाडौंका स्थायी बासिन्दा मानन्धर केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका बेलाको सक्रियताले यस पटकको मेयरका रूपमा अघि आउनुपर्ने धेरैको अपेक्षा छ ।

लोकपथसँगको कुराकानीमा उनले विभिन्न योजनासहित मेयरको तयारीमा लागेको संकेत गरे । लामो समयदेखि समस्याको रूपमा रहेको फोहोर व्यवस्थानदेखि खानेपानीको उपलब्धता, ट्राफिक व्यवस्थापनदेखि स्मार्ट सिटी निर्माणसम्मका योजनासहित महानगरको मेयरको उम्मेदवारको रूपमा अगाडि आउने तयारीमा छन् उनी । महानगरको वर्तमान नेतृत्वले उचित काम गर्न नसकेको प्रति असन्तुष्टि जनाउँदै काठमाडौंलाई व्यवस्थित बनाउन सक्ने नेतृत्व आवश्यक रहेको बताउँछन् ।

अझ काठमाडौं उपत्यकालाई नै बृहत् महानगरको अवधारणमा लगेर विकासलाई तीव्रता दिनुपर्ने उनको जोड छ । काठमाडौं सांस्कृतिकरूपमा धनी सहर भए पनि यहाँको व्यवस्थापनको कमीका कारण महत्वविहीन भएको भन्दै त्यसलाई संरक्षण गर्नसक्ने नेतृत्व आवश्यक रहेको उनले बताए ।

त्यस्तै काठमाडौंमा रहेको अव्यस्थित सहरीकरणलाई हटाउनका लागि काठमाडौंभन्दा बाहिर सहर विस्तार गर्नुपर्नेलगायतका बृहत् भिजनसहितको नेतृत्व आउनुपर्ने उनी बताउँछन् ।

३. केशव स्थापित

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरबाट मेयरको उम्मेदवारको लागि चर्चामा आएको अर्को नाम हो, केशव स्थापित । २०५४ मा काठमाडौंबाट मेयर बनेका स्थापित हाल बागमती प्रदेशका सांसद हुन् ।

अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने स्थापित हाल पार्टीको केन्द्रीय सदस्य छन् । यसअघिको निर्वाचनमा पनि मेयरको उम्मेदवारको रूपमा चर्चामा रहेका उनी पछि बागमतीको मुख्यमन्त्री बनाउने चर्चापछि पछि हटेका थिए ।

पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका स्थापित एमालेको भातृसंगठन राष्ट्रिय युवा संघको संस्थापक महासचिव समेत बनेका थिए ।

त्यसैगरी पार्टीभन्दा बाहेक उनी २०५१ देखि २०५२ सम्म राष्ट्रिय खेलकुद परिषद् नेपालको नवौँ सदस्यसचिव बने । २०६९ मा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुत्तमा नियुक्त भएका उनी २०५४ मा मेयरको उम्मेदवार बनेपछि उनले ल्याएको ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ नारा चर्चित बनेको थियो ।

राजाको प्रत्यक्ष शासनकालमा मेयर बनेका बखत उनले पशुपति क्षेत्र, माइतीघर, तीनकुनेलगायतका क्षेत्रमा निर्माण भएका अव्यस्थित घर–टहराहरू भत्काएर चर्चा र विवादमा समेत परेका थिए ।

बोलीका कारण बेला–बेला चर्चामा आइरहने उनी बागमती प्रदेशको मुख्यमन्त्रीको रूपमा चर्चामा रहेका थिए तर आन्तरिक विवादपछि उनलाई मुख्यमन्त्री बन्नबाट रोकिएको थियो भने तत्कालीन डोरमणि पौडेल नेतृत्वको भौतिक पूर्वाधारमन्त्री बनेका उनी केही समयपछि बर्खास्त गरिएको थियो ।

आगामी स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा स्थापितको नाम समेत चर्चामा आएको छ । निर्वाचनको तयारीस्वरूप भेटघाट र छलफललाई तीव्रता दिएको उनीनिकटहरू बताउँछन् ।

४. विश्वराम सापकोटा

काठमाडौं महानगरपालिकाको आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, विश्वराम सापकोटा । महानगरको सबैभन्दा ठूलो १६ नम्बरका वडाध्यक्षका प्रत्यासी समेत रहेका उनले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

२०४६ अघि नै राजनीतिमा सक्रिय उनी २०५४ मा वडा नं १६ को वडा कमिटी सदस्य हुँदै हाल पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका छन् । २०७० मा काठमाडौं क्षेत्र नं ७ को क्षेत्रीय अध्यक्ष बनेका उनी त्यहाँ रहेको सामुदायिक विकास संघको निरन्तर १२ वर्ष अध्यक्ष भएर काम गरेका छन् ।

राजनीतिकसँगै सामाजिक काममा समेत उनी सक्रिय छन् । ठूलो वडा र धेरै मतदाता रहेका कारण १६ वडाबाट मेयरको उम्मेदवार बनाउन सकेमा जितको लागि सहज हुने बताउँछन् ।

५. राजेश शाक्य

नेकपा एमालेका तर्फबाट बागमती प्रदेशमा सांसद हुन्, राजेश शाक्य । सांसद शाक्यको नाम पनि आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको आकांक्षीको रूपमा अघि आएको छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका शाक्य हाल काठमाडौंका जिल्लासचिव रहेका छन् । २०७० सालको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट काठमाडौं क्षेत्र नं ८ बाट क्षेत्रीय सभापति समेत भएका थिए ।

स्थानीय राजनीतिबाट पार्टी राजनीतिमा आएका शाक्य २०५४ मा वडा सदस्य समेत भएका थिए । हाल काठमाडौं महानगर कमिटीको इन्चार्जको जिम्मेवारीमा रहेका शाक्यले आगामी निर्वाचनको तयारीस्वरूप छलफल र भेटघाटलाई अगाडि बढाएका छन् ।

उनी स्वयम्मले आधिकारिकरूपमा मेयरको उम्मेदवारको रूपमा अघि बढेको नबताए पनि तयारी थालेको उनीनिकटहरू बताउँछन् ।

६. निर्मल देउला

नेकपा एमालेबाट आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौंमा महानगरबाट मेयरको आकांक्षीको रूपमा आएको अर्को नाम हो, निर्मल देउला । हाल एमालेको तर्फबाट काठमाडौं महानगर कमिटीमा रहेका उनी पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् ।

त्यसो त २०६० मा काठमाडौंको जिल्ला कमिटी सदस्य बनेका उनी २०७० सालबाट काठमाडौं महानगर कमिटीको जिम्मेवारीमा छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा नेता देउलाले त्यसको तयारीस्वरूप भेटघाटलाई तीव्र बनाएका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै एमालेबाट मात्र नभएर अन्य राजनीतिक दलबाट पनि आकांक्षीहरूको नाम बाहिरिएको छ । सोही क्रममा नेपाली कांग्रेसको तर्फबाट पूर्वमन्त्रीदेखि वडाअध्यक्षसम्मको नाम मेयरको आकांक्षीको रूपमा अगाडि आएको छ ।

यो पनि

काठमाडौं महानगरमा कांग्रेसबाट पूर्वमन्त्रीदेखि वडाध्यक्षसम्म मेयरका आकांक्षी

तारकेश्वरमा माओवादी केन्द्रबाट को–को छन् मेयरका आकांक्षी ?

तारकेश्वरमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो : को–को छन् कांग्रेसबाट मेयरका आकांक्षी ?

यी हुन् काठमाडौं तारकेश्वरमा एमालेबाट मेयरका आकांक्षी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?