बागलुङ । नेपाल टेलिकमले पर्यटकीय गन्तव्य ढोरपाटनमा चौथो पुस्ताको फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
२०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत टुजी र थ्रिजी सेवा विस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।
उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्व बोकेको गन्तव्य भएकोले टेलिकमले उक्त क्षेत्रमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओ एलटिइसहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए ।
यसभन्दा सोलार सेटमार्फत टावर सञ्चालनमा थियो । हिमपात र राम्रो सँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्ब हुने समस्या थियो । अब भने विद्युत् जडान भएसँगै समस्या हटेको छ ।
बागलुङ सदमुकाम देखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरी आफनो सेवा प्रवाह गरेको टेलिकमले जनाएको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका-९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँ सँगै ढोरपाटन उपत्यकाका झण्डै ३ हजार घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित भएको ढोरपाटन भुजीखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष चुनाबहादुर घर्ती मगरले जानकारी दिए ।
समुन्द्र सतहदेखि ३ हजार २ सय मिटरको उचाईंमा अवस्थित पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका-८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ ।
अब कपिलवस्तु सालझण्डीदेखि ढोरपाटन सम्मको सडकअन्तर्गत बोबाङदेखि ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्ष सम्मका भू-भागमा मोबाइल सेवा पुगेको ढोरपाटन नगरपालिका-९ का वडा अध्यक्ष हरिबहादुर घर्तीले बताए ।
फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ ।
ढोरपाटन उपत्यका पर्यटकीय र शिकार आरक्षणको हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ हो । त्यहाँ पुग्ने पर्यटक र उपत्यकावासीले यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त मोबाइल सेवा सञ्चालन भएसँगै सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया