म्याग्दी । जिल्लाको अत्यन्तै विकट तथा दुर्गम गाउँ मल्कबाङ, मलम्पारलगायतका अन्य गाउँका स्थानीयलाई यसभन्दा अगाडि सञ्चार सेवा नहुँदा निकै कठिनाई झेल्दै आउनुपरेको थियो ।
कुनै जानकारी र सूचना आदानप्रदान गर्न या आफन्तलाई केही भन्न र सरकारी कामकाज गर्न र गराउन घण्टौ पैदलयात्रा गरेपछि सम्बन्धित ठाउँमै पुगेर मात्र जानकारी हुने गर्दथ्यो ।
यो क्षेत्रमै मोबाइल सेवा नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आइरहेका थिए तर अहिले नेपाल टेलिकमले आफ्नो सेवा विस्तार गरेपछि यो समस्या हटेर गएको छ भने स्थानियवासी पनि खुसी भएका छन्।
नेपाल टेलिकमले धौलागिरी गाउँपालिका वडा नं ५ मल्कबाङको धुरीमा १२ मिटर अग्लो टावर निर्माण गरी टुजी र थ्रीजी सेवा एकसाथ सञ्चालनमा ल्याएसँगै नमस्ते मोबाइल प्रयोगकर्ता लाभान्वित भएका छन्।
टावर सञ्चालनमा आएपछि धौलागिरी गाउँपालिकाको वडा नं ५ मल्कबाङ, मलम्पार, भेडीखाल्टा, होपा, वडा नं ६ को मराङ, बुल गाउँ, रघुगंगा गाउँपालिकाको वडा नं ८ कुइने खानी, मालिका गाउँपालिकाको वडा नं ७ बिमको अधिकांश भुभागमा कभरेज भएसँगै स्थानीय खुसी भएका हुन्।
टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरुप अत्यन्तै विकट र दुर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्ररुपमा अगाडि बढाइरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
स्थानीयलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजीमार्फत भ्वाइस र थ्रिजीमार्फत भ्वाइस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए ।
शर्माले भने, ‘म्याग्दी जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोबाइल सेवा सुचारु भएसँगै पहिले डाँडातिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, इन्टरनेटको पहुँचबाहिर रहनुपर्ने बाध्यता हटेको छ ।’
यो क्षेत्रमा पहिले नेटवर्क नै थिएन धेरै भुभाग र बस्तीमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भू–भाग समेट्ने गरी यो टावर निर्माण गरी सेवा सुचारु गरेपश्चात् अहिले समस्या हल भएको कार्यालयप्रमुख शर्माको भनाइ छ ।
आफ्ना पालिकावासी नागरिकको सूचना र सञ्चारको समस्यालाई मध्यनजर गरी गाउँपालिकाको सहयोग, स्थानियवासीसँग समन्वय र नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरी मोबाइल सेवा सुचारु गर्न सफल भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । टेलिकमले उक्त स्थानमा मोबाइल सेवा सञ्चालन गर्न एक वर्ष पहिलेदेखि धौलागिरी गाउँपालिका र स्थानीयसँग आवश्यक समन्वय र गृहकार्य गरिरहेको थियो ।
टेलिकमले उक्त टावरमा डेढ/दुई हप्ताभित्र अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोबाइल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ। सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकताअनुरुप सेवालाई समयसापेक्ष स्तरोन्नति गर्दै लैजाने टेलिकमले जनाएको छ ।
मोबाइल सेवा सुचारु भएपछि पहिले डाँडातिर धाउनुपर्ने बाध्यता हटेको स्थानीय समाजसेवी अमर छन्त्यालले बताए । भौगोलिक विकटतासँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न पाउँदा र मोबाइलमा इन्टरनेट चलाउन पाउँदा आफूहरु हर्षित भएको धौलागिरी गाउँपालिका वडा नं ५ मलम्पार निवासी घन बहादुर दर्जीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया