पोखरा : गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४÷७५ को खर्च विवरण सार्वजनिक गरेको छ ।
गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, आर्थिक ऐन २०५५, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५को दफा ५ बमोजिम खर्च विवरण सार्वजनिक गरिएको कार्यालयका लेखा अधिकृत पदमराज बरालले जानकारी दिए।
लेखा अधिकृत बरालका अनुसार रु दुई करोड ७४ लाख ८८ हजार प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शीर्षकमा रु एक करोड ९१ लाख दुई हजार ४४१ खर्च भएको छ ।
उक्त विनियोजित रकममध्ये रु ८३ लाख ८५ हजार ५५९ फ्रिज भएको छ भने कार्यालयले ६९।४९ प्रतिशत रकम मात्रै खर्च गरेको उनले उल्लेख गरे ।
प्रदेश प्रमुखको कार्यालयलाई चालू खर्चमा रु एक करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा रु ८८ लाख ८ हजार १०७ खर्च भएको थियो । चालू खर्चमा रु ७६ लाख ७९ हजार ८९३ फ्रिज भएको छ भने ५३।४२ प्रतिशत रकम मात्रै खर्च भएको उनले जानकारी दिए ।
पूँजीगत खर्चतर्फ रु एक करोड १० लाख विनियोजन भएकोमा रु एक करोड दुई लाख ९४ हजार ३३४ खर्च भएको छ । सात लाख रु पाँच हजार ६६६ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया