म्याग्दीको नारच्याङ स्कूलमा कक्षा थप्न सेर्पुजा दम्पतीले दिए ७ लाख ८० हजार

म्याग्दी : अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व.आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव ८ लाख रूपैयाँ सहयोग गरेकोे छ । 

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उनकी श्रीमती मनकुमारी शेर्पुजा पुनले स्व. आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु-याउन ७ लाख ८० हजार रूपैयाँ प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताए। 

उनका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक १२ हजार रूपैयाँका दरले सो रकम उपलब्ध गराएका हुन् । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ । 

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?