मुस्ताङकाे कागबेनी र खिङगासम्म पुग्याे टेलिकमको फोरजी सेवा

लोकपथ
63
Shares

पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भू-भागमा मोबाइल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो ।

टेलिकमले आफनो सेवालाई त्यहाँ तिब्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक हिसाबले महत्वपूर्ण गन्तव्यको रुपमा परिचित कागबेनी देखि मुक्तिनाथ मन्दिर सम्मको सडकलाई मध्यनजर गर्दै आफनो सेवा विस्तार गरेको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ खिङगामा २५ मिटर स्थायी संरचनासहितको टावर निर्माण गरेर एकैसाथ टेलिकमले टुजी र चौथो पुस्ताको फोरजी मोबाइल सेवा शुभारम्भ गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

मोबाइन सेवा सञ्चालनमा आएपछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं १ को खिङगा गाउँ, झारकोट, पुथाक, झोङका झण्डै २ सय घरधुरी सँगै धार्मिक तथा पर्यटकीय गन्तव्य कागबेनी देखि मुक्तिनाथ मन्दिरसम्मको सडकमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नमस्ते मोबाइलमा भ्वाईस र डाटा चलाउन सहज भएको प्रमुख शर्माले बताए ।

‘पहिले त्यस क्षेत्रमा टावर नहुँदा हामीलाई सञ्चारको लागि निकै समस्या भएको थियो अहिले टावर सञ्चालनमा आएपछि मोबाइलमा कुराकानी गर्न र ईन्टरनेट चलाउन निकै सहज भएको छ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले भने’। उनले सडकदेखि टावर निर्माण स्थलसम्म उपकरण ढुवानीको लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आवश्यक सहयोग गरेको समेत बताए ।

मोबाइल सेवा नहुँदा गाउँपालिकाको वडा नं १ का ४ वटा गाउँका बासिन्दा र यहाँ आउने पर्यटकलाई समस्या हुने गरेको वडा नं १ का वडा अध्यक्ष प्रमेश गुरुङले बताए । खिङगामा टेलिकमले सोलार सेट मार्फत टावर सञ्चालन गरेको छ ।

यसभन्दा अघि टुजी र थ्रिजी सेवा मात्र रहेको कागबेनीको टावरमा पनि टेलिकमले फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सुचारु भएपछि त्यस क्षेत्रमा मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन र भिओ एलटी मार्फत एचडी कल गर्न सुविधा थप भएको छ ।

त्यस्तै टेलिकमले घरपझोङ गाउँपालिका स्थित जोमसोम रिसोर्टमा रहेको टावरमा फोरजी सेवा थप गरेको छ । फोरजी सेवा सञ्चालन भए सँगै रिसोर्ट आसपासमा रहेका बस्तीहरु स्याङ र ठिनीका झण्डै २ सय घरधुरी मोवाईल सेवाबाट लाभान्वित भएका छन ।

यता म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ छोटेपा क्षेत्रमा पनि टेलिकमले थ्रिजी सेवा सञ्चालन गरेको जनाएको छ । ५ महिना पहिले टुजी सेवा मात्र उपलब्ध गराएको टेलिकमले त्यहाँ निर्माणाधिन निलगिरी हाईड्रो पावरलाई लक्षित गरि ईन्टरनेट सेवा प्रदान गर्ने उद्येश्यले थ्रिजी सेवा सञ्चालन गरिएको नेपाल टेलिकम म्याग्दीले जानकारी दिएको छ ।

अत्यन्तै विकट र दुर्गम भुभाग रहेको उक्त स्थानमा निर्माणाधिन निलगिरी हाईड्रो पावरमा झण्डै १ हजार २ सय मजदुरले काम गरिरहेको हाईड्रो पावरका आवसिय ईन्जिनियर रत्न बमजनले जानकारी दिए । निलगिरीमा थ्रिजी सेवा सञ्चालन भएपछि त्यहाँ कार्यरत मजदुरहरुलाई मोवाईल डाटामार्फत ईन्टरनेट चलाउन थप सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?