सुर्खेत । कर्णाली प्रदेशले पदाधिकारी र कर्मचारीका लागि वार्षिक १ अर्ब ४१ करोड ९३ लाख ८३ हजार ४६३ रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुको पारिश्रमिक १ अर्ब ५ करोड १४ लाख ६२ हजार २२ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यस्तै, अन्य सेवा सुविधा भत्ता, पोशाक लगायतका नौ वटा शीर्षकमा ३६ करोड ७९ लाख २१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार पदाधिकारीहरूको पारिश्रमिक भन्दा कर्मचारीको पारिश्रमिकमा बढी रकम खर्च हुने गरेको छ । गत आर्थिक वर्षमा कर्मचारीको पारिश्रमिकमा मात्रै १ अर्ब १ करोड ७ लाख ९० हजार ३६२ रुपैयाँ सकिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले आठवटा मन्त्रालय, प्रदेशसभा सचिवालय र मातहतका कार्यालयमा गरी १ हजार ७२२ जना कर्मचारी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशमा २ हजार ८६२ कर्मचारीको दरबन्दी छ । तर, दरबन्दीभन्दा न्यून कर्मचारी कार्यरत छन् ।
यस्तै, समीक्षा अवधिमा प्रदेश सरकारका पदाधिकारीहरूको पारिश्रमिकमा ४ करोड ६ लाख ७१ हजार ६६० रुपैयाँ खर्च भएको छ । मुख्यमन्त्री, ७ वटा मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेश लोक सेवा आयोगका पदाधिकारी, योजना आयोगका पदाधिकारीहरूको पारिश्रमिकमा उक्त रकम खर्च भएको हो ।
पदाधिकारीको बैठक भत्तामा मात्रै एक वर्षमा १३ लाख २३ हजार ५०० भन्दा बढी रकम सकिएको छ भने पदाधिकारीको अन्य सुविधामा १ करोड ८७ लाख ५५ लाख १२० र अन्य भत्तामा २१ लाख ५५ हजार ८९९ रुपैयाँ खर्च भएको छ । पदाधिकारीको सुविधा अन्तर्गत मुख्यमन्त्रीले अतिथि सत्कार स्वरुप मात्रै २० हजार, मन्त्रीले १५ हजार पाउने गरेका छन् । विदेश भ्रमणमा जाँदा मुख्यमन्त्रीले दैनिक २५० अमेरिकी डलर र मन्त्रीहरुले २ सय अमेरिकी डलर पाउने व्यवस्था गरिएको छ ।
यस्तै, सभामुखले अब ३५ सय सञ्चार खर्च पाउँछन् भने विपक्षी दलका नेता र उपसभामुखले ३४ सय, सत्ता पक्षका प्रमुख सचेतक र विपक्षी दलका प्रमुख सचेतकले ३३ सय, दलको प्रमुख सचेतक र सत्ता पक्षको प्रमुख सचेतकले ३२ सय र विपक्षी दलको सचेतक र प्रदेशसभा सदस्यले तीन हजारका दरले मासिक सुविधा पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया