काठमाडौं । पोखरा रंगशालामा नवौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौँ खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताए ।
कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौँ राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गरे । उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिबालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो ।
३९ वर्षपछि गण्डकी प्रदेशमा आउदो असोज २८ देखि कार्तिक ३ गतेसम्म संचालन हुने नवौँ राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताए ।
पोखराका मेयर धनराज आचार्यले स्थानीय तहलाई संघिय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफुहरु कटिवद्ध भएको बताए ।
प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अबस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया